खेल

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै राखेप

पौडी पोखरी, सुटिङ रेन्ज र पोखरा क्रिकेट मैदानलाई ९ करोड

खेलाडीले अझै पूर्ण रुपमा कोभिड–१९ विरुद्धको खोप पाईसकेका छैनन् । खेलाडीले खोप नपाएपनि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्ने औल्याएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिँदै छ ।  

परिषदले भदौदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्नुपर्नेमा जोड दिएको छ । ‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भदौदेखि नै तयारी शुरु गर्नुपर्छ,’ राष्ट्रिय खेलकुद परिषद कार्यकारी समितिका सचिव कुलबहादुर थापाले भने, ‘भदौभित्र नै पूर्वाधारको लागि टेण्डर आह्वान गरिसक्नुपर्ने छ ।’ पोखरा रंगशालामा दुईवटा पूर्वाधार निर्माणको खाँचो छ । सुटिङ रेन्ज र हिटिङ स्वीमिङ पुल(पौडी पोखरी) निर्माण गर्नुपर्ने आवश्यकता छ ।  

भदौभित्रमा बोलपत्र आह्वान गरेर काम शुरु नगरे सम्भावना नहुने देखिन्छ । हिटिङ स्वीमिङपुल र सुटिङ रेन्जको बोलपत्र गर्नुपर्ने दबाव राखेपलाई छ । कोभिड–१९ को तेस्रो लहर आउने चर्चासँगै बोलपत्र आह्वानको अर्को चुनौति छ । दुई पूर्वाधारको लागि परिषदले बजेट छुट्टाएको छ । गतवर्ष पनि बजेट छुट्टाएपनि कोभिड–१९को लहरसँगै बोलपत्र आह्वान हुनै सकेको थिएन् । पौडी पोखरीलाई ६ करोड रुपैयाँ बजेट परिषदले छट्टाईसकेको छ । ‘रातो किताबमै छ बजेट,’ उनले भने, ‘त्यसैले छिटो बोलपत्र आह्वान गर्नुपर्ने खाँचो छ ।’ सुटिङ रेन्जको लागि परिषदले २ करोड रुपैयाँ बजेट राखेको छ ।  

पौडी पोखरीको लागि दोस्रो त्रैमासिकमा १ करोड, तेस्रो त्रैमासिकका ४ करोड र चौथो त्रैमासिकमा १ करोड खर्च गर्ने योजना परिषदको छ । त्यसैगरी सुटिङ रेन्जको लागि दोस्रो त्रैमासिकमा ५० लाख, तेस्रो त्रैमासिकमा १ करोड र चौथो त्रैमासिकमा ५० लाख खर्च गर्ने परिषदले उल्लेख गरेको छ । त्यसैगरी पोखरा रंगशाला क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाईएको छ । त्यो पनि पहिलो त्रैमासिकमा ३० लाख, दोस्रो त्रैमासिकमा ३५ लाख र तेस्रो त्रैमासिकका ३५ लाख रुपैयाँ बजेट राखिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारको लागि परिषदले ५० लाख रुपैयाँ छुट्टाएको छ । जिल्लाका पूर्वाधारको लागि १० लाख रुपैयाँको दरले बजेट छ ।  

खेलाडीलाई खोप नलगाईकन नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना नरहेको जिकिर गण्डकी प्रदेश खेलकुद परिषदले गरेको छ । ‘खेलाडीले खोप लगाईसकेको अवस्था छैन्’ गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने, ‘असोजभित्र खेलाडीलाई खोप लगाउन सकियो भने नवौं प्रतियोगिताको सम्भावना रहन्छ ।’ खेलाडीसँगै अफिसियललाई खोप उपलब्ध गराउनुपर्ने आवश्यकता छ । ‘असोजमा खोप पाईयो भने आशै मारिहाल्ने अवस्था छैन्,’ उनले थपे । उनका अनुसार खोपको व्यवस्थापन भए नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना रहन्छ ।  

१८ वर्षमाथिका ३५ खेलका खेलाडीलाई खोप लगाउन जरुरी देखिन्छ । यद्दपी छनोट प्रतियोगिताका १८ वर्षमाथिका खेलाडी मात्रै छान्नुपर्ने हुन्छ । खोप १८ वर्षमाथिका खेलाडीलाई मात्रै लगाउने योजना छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले पनि खेलाडीको लागि खोप उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय कास्की समक्ष निवेदन समेत दिईसकेको छ ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशाला क्रिकेट मैदानको पूर्वाधार थप्ने योजना कास्की जिल्ला क्रिकेट संघले गरेको छ । संघका अध्यक्ष सन्जयकान्त सिग्देलका अनुसार मैदानको लेभलिङ, ड्रेन तथा प्लेयर बक्स निर्माण गर्ने योजना छ । ‘तारजाली लगाई मैदान संरक्षण गरिएको छ । अबको एक करोडले मैदानको लेभलिङ र डे«न(नाली) बनाईने छ,’ उनले भने, ‘त्यसपछि प्लेयर बक्स निर्माण गरिने छ ।’ लेभलिङ र नाली निर्माण कम लागतमा बनाई प्लेयर बक्सलाई विशेष प्राथमिकता दिईने उनको भनाई थियो । 

प्रकाशित: २३ श्रावण २०७८ ११:५४ शनिबार

नवौं राष्ट्रिय खेलकुद