दशक अघिसम्म मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङसम्म सर्वसाधारणको पहुँच कम थियो । उपल्लो मुस्ताङमा यात्रा सहज थिएन । तर अहिले यातायातको सहज पहुँच छ । सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्यड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ ।
मुस्ताङको उपल्लो क्षेत्रमा खेलकुदका पूर्वाधार थपिने क्रम चलिरहेको छ । अहिले कोरोनाको महामारीकै बीचमा खेलाडीलाई खोप लगाई फुटबल तथा भलिबल प्रतियोगिता चलिरहेको छ । लोमान्थाङ–५ लोवाथाङ हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणको योजना अघि बढाइएको छ । भदौभित्रमा गल्फ क्लब निर्माणको लागि प्राविधिक टोलीसहित लोमान्थाङ पुग्ने छ ।
‘लोमान्थाङमा स्पोर्टस टुरिजम प्रवद्र्धन गर्न हाईअल्टिच्युड गल्फ क्लब निर्माणको योजना छ । सम्भवः भदौको पहिलो साता प्राविधिक सहितको टोलीले अध्ययन गर्नेछ,’ स्थानीयबासी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । उनका अनुसार भदौभित्र एकसाता बसेर प्राविधिकको सल्लाह र रेखांकन अनुसार नौहोल बनाउने योजना छ ।
लोवाथाङ लोमान्थाङदेखि आधाघण्टाको दुरीमा पर्छ । समुद्री सतहदेखि ४६ सय ४५ मिटरको उचाईमा छ । लोमान्थाङदेखि पश्चिम पर्छ । गल्फ क्लब निर्माणपछि विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब बन्नेछ ।
‘पहिला फिल्ड हेर्नुपर्छ । फिल्ड हेरेपछि मात्रै नौ होल या १८ होल कुन उपयुक्त हुन्छ त्यही बनाउने विषयमा निर्णय हुन्छ,’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले भने, ‘फिल्ड भएसम्म फराकिलो बनाउन उपयुक्त हुन्छ ।’ उनका अनुसार नौ होललाई फिल्ड भएअनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ ।
नौ होल बनाउन सामान्यत ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘टिबक्स, फेयर वे, ग्रिन बनाउनुपर्छ’ उनले भने, ‘फ्रन्ट नाईन र व्याक नाईनको टिबक्स हुनुपर्छ । महिला गल्फरलाई ध्यानमा राखेर समेत टि बक्स बनाए राम्रो हुन्छ ।’ उनका अनुसार ग्रिनलाई बुटिक शैलीमा बनाउनुपर्छ । ‘लोमान्थाङको प्रकृति र बस्तुस्थिति झल्कने गरी होलहरुको नाम राख्ने हो । त्यही अनुसार ग्रिनको डिजाईन गर्नुपर्छ जुन अन्यको भन्दा ‘युनिक’ होस,’ उनको भनाई थियो ।
अहिले विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब भारतको सिक्किममा छ । सिक्किमको ३ हजार ९ सय ७० मिटरको उचाई याक गल्फ क्लब छ । बोलिभिको ला पाज गल्फ क्लब ३ हजार २ सय ६० मिटरको उचाईमा छ । जुन विश्वकै दोस्रो अग्लो स्थानको गल्फ क्लब हो । त्यस्तै चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब ३ हजार ३८ मिटरको उचाईमा छ । अमेरिककाको कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाईमा छ ।
उपल्लो मुस्ताङमा गल्फ क्लब निर्माणपछि हाईअल्टिच्युडको खेलकुद गन्तव्य बन्ने छ । गतवर्षदेखि पाँच करोडको गुरुयोजनासहित फुटबल मैदान, बास्केटबल तथा भलिबल कोर्ट निर्माण शुरु गरिएको छ । लोमान्थाङ गाउँपालिका–६ किमलिङमा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको हो ।
गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको थियो । किमलिङमा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । निर्माणाधिन खेलग्राममा फुटबल मैदानसहित ९ लेनको एथलेटिक्स ट्रयाक(सिन्थेटिक) बनाइने छ । ९ लेनको ट्रयाक भने गण्डकी प्रदेशमै छैन् । गण्डकी प्रदेशकै राजधानी पोखरा रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्रयाक ८ लेनको बन्ने छ ।
प्रकाशित: २१ श्रावण २०७८ ०७:४८ बिहीबार