खेल

पारसको अप्रत्याशित संन्यासस: लक्ष्यमा क्यान नेतृत्व

पछिल्ला दुई दशकमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय रूपमा केही फड्को मार्‍यो। नेपालको यो सफलताका पछाडि कयौं खेलाडी, प्रशिक्षक र व्यवस्थापकको पनि उत्तिकै भूमिका छ। विशेषत कयौं खेलाडीको कडा मिहिनेत, परिश्रम, त्याग तपस्या र लगावले गर्दा नेपालले ती सफलता पाएको हो भन्न सकिन्छ। नतिजाका हिसाबले तुलनात्मक रूपमा नेपाली क्रिकेटका लागि सन् २००० को दशकभन्दा २०११ को दशक निकै यादगार बन्यो। यसबीच पछिल्ला दशकमा नेपालले ट्वान्टी–२० विश्वकप र डिभिजन–५ देखि डिभिजन–१ सम्मको यात्रा गर्दा एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको समेत मान्यता पाएको छ।  

पक्कै पनि यो सफलताका पछाडि कयौं खेलाडीको योगदान छ। तथापि, यसको नेतृत्वमा भने नेपाली क्रिकेटकै सफल खेलाडी र कप्तान पारस खड्काको भूमिका अहम् रह्यो। नेपाल क्रिकेट संघ (क्यान) साढे तीन वर्ष प्रतिबन्धमा पर्दा उनले नेपाली क्रिकेटका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे। राष्ट्रिय टोलीलाई एक ढिक्का बनाउन उनले निकै मिहिनेत गरे। साथै त्यस समय क्रिकेट टोलीको छनोटदेखि सेवासुविधामा दिलाउन पनि उनले आवाज उठाए। त्यसो गर्दा मैदानदेखि प्रशासनसम्म पनि उनी चर्चामा रहे। उनी समयसमयमा क्यानको नेतृत्वको कटु आलोचक पनि बने।  

तर, उनै ३३ वर्षे अलराउन्डर पारसले मंगलबार आफ्नो १७ वर्षे अन्तर्राष्ट्रिय करियरलाई बिट मारेका छन्। अप्रत्यशित रूपमा सन् २०१९ मा नेपालको कप्तानी छाडेका पारसले मंगलबार पनि अप्रत्यशित रूपमा नै अन्तर्राष्ट्रिय खेल करियरको अन्त्य गरे।  उनले कप्तानको जिम्मेवारी त्याग्दा प्रदर्शनमा आफूमाथि दबाब कम गर्ने र नयाँलाई नेतृत्वको अवसर प्रदान गर्ने मुख्य कारण थियो। तर, यस पटक उनले अन्तर्राष्ट्रिय करियरबाटै बिदा लिँदा नयाँ कुराले चर्चा पाएको छ। त्यो हो, वि.सं.२०८० को असोजमा हुने नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन। त्यस निर्वाचनमार्पmत उनी क्रिकेट मैदानबाट क्रिकेटको राजनीति अथवा व्यवस्थापनमा आउन चाहन्छन्। तर, राष्ट्रिय टोलीबाट खेलिरहँदा त्यो सम्भव हुनेछैन। किनकि क्यानको विधानले क्रिकेट करियर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचन भाग लिन पाउनेछन्।

त्यसैले आगामी असोजपछि उनले कुनै पनि प्रतियोगिता खेलेमा क्यानको निर्वाचनमा भाग लिन पाउने छैनन्। जसको कारण पनि उनले आफ्नो लोभलाग्दो अन्तर्राष्ट्रिय क्रिकेट करियर बिट मारेको हुन् भन्ने आँकलन गरिएको छ। स्वयम् पारसले पनि आपूm नेपाली क्रिकेटमा व्यवस्थापकीय भूमिकामा जाने अभिव्यक्ति दिइसकेका छन्। उनले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि सो कुरा उल्लेख छ।

‘मैले एक क्रिकेटर रूपमा देशका लागि धेरै गरिसकेको छु। मन र मस्तिष्क भ्याएसम्म सबै गरेँ। देशका लागि सधैं राम्रो सफलता ल्याउने मेरो सपना नै थियो,’ पारसले भने, ‘तर अन्तत मेरो सपना नेपाली क्रिकेटको व्यवस्थापन सुधार गर्नु हो। मैले पछिल्ला दुई दशक जुन किसिमले मिहिनेत गरेँ, अब व्यवस्थापनका लागि गर्नेछु। त्यसका लागि सबैको साथ बिना सम्भव छैनन्।’ विश्व क्रिकेटका कयौं सफल खेलाडीले देशका लागि खेलेपछि व्यवस्थापकीय या नेतृत्वमा योगदान गरेको उदाहरणहरू छन्। छिमेकी राष्ट्र भारतका पूर्वकप्तान सौरभ गांगुली पनि अहिले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष छन्।  

तथापि, उनी एक दशक मैदानबाहिरको पर्खाइपछि मात्र बिसिसिआईको नेतृत्वमा पुगे। बिसिसिआईको नेतृत्वसम्म पुग्न पनि उनले बंगाल क्रिकेट एसोसिएसनअन्तर्गतको क्रिकेट डेपलभमेन्ट कमिटीबाट व्यवस्थापकीय यात्रा तय गरेका थिए। सन् २००८ मा संन्यास लगत्तै उनले त्यो जिम्मेवारी पाए। पछि सन् २०१५ देखि २०१९ सम्म उनले बंगाल क्रिकेट एसोसिएसनको नेतृत्वसमेत गरे। तर, बिसिसिआईको अध्यक्ष भएपछि भने उनले त्यो नेतृत्व त्यागे। त्यसबीच गांगुलीले लामै अनुभव बटुले। खेलाडी जीवनमा पाएका सफलतालाई हालसम्म धमिलिन दिएका छैनन्। पारस पनि नेपाली क्रिकेटका लागि गांगुली नै हुन्। तर, के उनले खेलाडी जीवनमा पाएका सफलतालाई क्रिकेटको राजनीतिबाट जोगाउन सक्लान् त ? यो सबैभन्दा ठूलो प्रश्न हो।  

जुन पारसले मात्र उत्तर दिन सक्छन्। सायद त्यो वि.सं.२०८० को क्यानको केन्द्रीय निर्वाचनबाट। जिल्ला या प्रदेश स्तरबाटै अनुभव लिएर पनि हुन सक्छ। त्यसको जबाफ उनीसँग छ। देशबाट खेल्नु उनका लागि व्यक्तिगत रूपमा सबैभन्दा ठूलो सफलता रहेको पारसले प्रतिक्रिया दिएका छन्। ‘देशका लागि खेल्नुै ठूलो सफलता हो। यसका लागि प्रशिक्षक, सहकर्मी, समर्थक, सरोकारवाला र परिवार प्रति कृतज्ञ छु,’ उनको विज्ञप्तिमा उल्लेख छ।  

तथापि, पारसको त्यो संन्यासले नेपाली क्रिकेट समर्थक, खेलाडी, प्रशिक्षक र स्वयम् क्यान नेतृत्वलाई पनि अचम्मित पारेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि पारसको संन्यास सही समयमा नभएको र निर्णयले अचम्मित बनाएको बताए। ‘संन्यासको निर्णय अप्रत्याशित रह्यो। उनको निर्णय सही समयमा भएन जस्तो लागेको छ। अलि चाडैं भयो कि भन्ने लाग्छ,’ क्यान अध्यक्ष चन्दले भने,‘तथापि, यो विषय एउटा खेलाडीका लागि व्यक्तिगत निर्णय हो।’  

कस्तो थियो पारसको खेल करियर ?  

यु–१५ बाट नै पारसले सन् २००२ मा नेपालको तर्पmबाट डेब्यु गरेका थिए। उनले १० एकदिवसीय र ३३ ट्वान्टी–२० क्रिकेट खेलेका छन्। यसबीच पारसले सन् २००९ देखि २०१९ सम्म लामो समयसम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरे, जहाँ उनले ट्वान्टी–२० विश्वकपको यादगार सफलता पनि दिलाए। उनी नेपाली क्रिकेटको ब्याटिङमा भरपर्दा खम्बा नै रहे। साथै बलिङमा पनि साथ दिँदै उनले नेपाली क्रिकेटका लागि राम्रो अलराउन्डरको भूमिका निर्वाह गर्दै आइरहेका थिए। उनले तेस्रो र चौथो नम्बर ब्याटिङ गर्न आउँदा ब्याटिङ समस्याले थलिएको नेपाललाई कयौं पटक दरिलो साथ दिएका थिए।  

पारसले ट्वान्टी–२० मा ७ सय ९९ र एकदिवसीयमा ३ सय १५ रन बटुलेका छन्, जुन नेपाली क्रिकेटका लागि दुवै फरम्याटमा सर्वाधिक व्यक्तिगत रन हो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त एकदिवसीय र ट्वान्टी–२० दुवैमा शतक प्रहार गर्ने उनी एक मात्र ब्याट्सम्यान हुन्। अन्तर्राष्ट्रिय मान्यता पाएको ट्वान्टी–२० र एकदिवसीय दुवै फरम्याटमा उनले क्रमशः ८ र ९ विकेट लिएका छन्। उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा ट्वान्टी–२० र सन् २०१८ मा एकदिवसीय मान्यता पाएको हो। सन् २०१९ मै नेपालले युएईविरुद्ध एकदिवसीय शृंखलामा जित्दा उनले नै कप्तानी गरेका थिए।  

उनको नेतृत्वमा नेपालले सबैभन्दा ठूलो सफलता सन् २०१४ मा पाएको थियो, जहाँ नेपालले बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप खेल्यो। उनले २६ ट्वान्टी–२० मा ११ जित र ६ एकदिवसीयमा तीन जित नेपाललाई दिलाए। पारसले सन् २०२० को मार्चमा पछिल्लो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। जुन उनलाई ७७ नम्बरको नेपाली जर्सीमा अन्तिम पटक हुने भएको छ। क्रिकेटका मैदानमा देखिने पारस अब नेपाली क्रिकेटको राजनीति मैदानमा उत्रिने भएका छन्। उनले देशका लागि धेरै गरिसकेको र अब व्यवस्थापकीय सुधारमा ध्यान दिने लक्ष्य राखेका छन्। के उनले मंगलबारको लक्ष्यजस्तै क्यान नेतृत्वको यात्रा तय गर्लान् ? त्यसका लागि अझै केही वर्ष कुर्नुको विकल्प हुने छैन।  

प्रकाशित: २० श्रावण २०७८ ०३:१९ बुधबार

पारस खड्का