खेल

चर्चामा बेलारूसी खेलाडी

केही दिन अघिसम्म बेलारूसकी स्प्रिन्टर क्रिस्टिना सिमानौस्कायाको नाम विश्वका लागि अपरिचित थियो। तर २४ वर्षीया सिमानौस्काया जारी टोकियो ओलम्पिक २०२० मा राजनीतिक स्क्यान्डलको केन्द्र बनेकी छिन्।

सिमानौस्कायाले टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार टोकियो ओलम्पिक रंगशालामा महिला २ सय मिटरमा प्रतिस्पर्धा गर्ने तालिका थियो तर उनले प्रतिस्पर्धा गर्ने अवसर पाइनन्। उनको खेलजीवन कूटनीतिक विवादको भुमरीमा फसेको छ।

सिमानौस्कायाले आफूलाई जबरजस्ती प्रतियोगिताबाट हटाएर बेलारूस फर्काउने षड्यन्त्र भइहेको दाबी गरेकी थिइन्। बेलारूस फर्कन विमानस्थल पुगे पनि उनले आफ्नो ज्यानकै खतरा भएको भन्दै विमान चढ्न अस्वीकार गरेपछि उनी आइतबार राति टोकियो विमानस्थलमै बसिन्। टोकियो ओलम्पिक २०२० का आयोजकले उनलाई सुरक्षा प्रदान गरेका थिए। क्रिस्टिना बेलारूसबाटै टोकियो ओलम्पिक खेल्न पुगेकी थिइन्। तर, त्यहाँ पुगेपछि बेलारूसको टोलीसँग उनको विवाद उत्पन्न भयो। उनी ओलम्पिकमा दुई सय मिटर दौडको खेलाडी हुन्। तर, त्यहाँ गएपछि क्रिस्टिनाले आफ्नै राष्ट्रिय टोलीबारे सार्वजनिक आलोचना गर्दै असन्तुष्टि व्यक्त गरिन्। 

उनले केही खेलाडी अयोग्य हुँदाहुँदै पनि छोटो सूचनाको आधारमा उनीहरूलाई ओलम्पिक चार सय मिटर प्रतिस्पर्धामा सहभागी गराइएको भन्दै आलोचना गरेकी थिइन्। त्यससँगै बेलारूसले उनलाई फिर्ता पठाउन विमानस्थलमा लगेको थियो। यद्यपि, घर फर्किन अस्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई हस्तक्षेप गर्न आग्रह गरिन्। सामाजिक सन्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफ्नो मन्जुरीबिना ओलम्पिकबाट निकालिएको बताएकी थिइन्। उनले बेलारूस अब आफ्ना लागि सुरक्षित नभएको र त्यहाँ आफूलाई जेल पठाउने त्रास भएको बताएकी थिइन्।

यता बेलारूस ओलम्पिक कमिटीका प्रमुख भिक्टरले भने सिमानौस्काया मानसिक रूपमा स्वस्थ नभएकाले उनको आरोप झूटो भएको दाबी गरे। भिक्टरले सिमानौस्काया मानसिक रूपमा स्वस्थ नभएकै कारण उनको स्थानमा अर्की खेलाडीलाई समावेश गरिएको समेत दाबी गरे।

प्रकाशित: १९ श्रावण २०७८ ०२:३७ मंगलबार

टोकियो ओलम्पिक २०२०