खेल

ज्याकोब्सले जिते सय मिटरमा स्वर्ण

इटालीका मार्सेल ज्याकोब्सले टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष १ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

आइतबार भएको फाइनल चरणमा ज्याकोब्सले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। ९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड कार्लेले रजत जित्दा क्यानडाका आन्द्रे डी ग्रासले निर्धारित दूरी ९.८९ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते। पुरुष १ सय मिटर दौडमा विश्व कीर्तिमान र ओलम्पिक कीर्तिमान दुवै जमैकाका उसेन बोल्टको नाममा रहेको छ। बोल्टले सन् २००९ अगस्ट १६ मा बर्लिनमा १ सय मिटर दौड ९.५८ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान रचेका थिए। सन् २०१२ को लन्डन ओलम्पिकमा बोल्टले निर्धारित दूरी ९.६३ सेकेन्डमा पूरा गर्दै ओलम्पिक कीर्तिमान रचेका थिए।

यसअघि शनिबार भएको महिला १ सय मिटरमा भने जमैकाले क्लिन स्विप गरेको थियो। जमैकाकी इलिअनी थोम्सन–हेयराले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जित्दा जमैकाकै सेल्ली एन फ्रासर प्राइस र सेरिका ज्याक्सन क्रमशः रजत र कांस्य पदक जितेका थिए।

प्रकाशित: १८ श्रावण २०७८ ०२:३५ सोमबार

ज्याकोब्स स्वर्ण