खेल

मानसिक समस्यामा खेलाडी: स्टोक्सको अनिश्चितकालीन विश्राम

कोभिड–१९ महामारीपछि भएका केही प्रतियोगितामा उपाधि दाबेदार मानिएका खेलाडीले सो प्रतियोगिताको दबाब झेल्न नसकेको र मानसिक रूपमा फिट रहन भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिने क्रम जारी छ। जापानकी टेनिस सुन्दरी नाओमी ओसाकाले फ्रेन्च ओपन दौरान मानसिक रूपमा फिट नरहेको भन्दै प्रतियोगिता बीचमै छोडेकी थिइन्। 

हाल जापानमा जारी टोकियो ओलम्पिक २०२० मा पनि अमेरिकाकी जिम्न्यास्टिक खेलाडी सिमोनी वाइल्सले मानसिक रूपमा फिट नरहेको भन्दै लगातार तीन स्पर्धाबाट नाम फिर्ता लिइसकेकी छिन्। यसैबीच इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले ‘मानसिक रूपमा फिट’ रहन भन्दै अनिश्चितकालका लागि सबै संरचनाका क्रिकेट गतिविधिबाट अलग हुने घोषणा गरेका छन्। 

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्दै स्टोक्सले इङ्ल्यान्ड टेस्ट टोलीबाट नाम फिर्ता लिएका हुन्। मानसिक स्वास्थ्यका कारण प्रतियोगिताबाट नाम फिर्ता लिने चर्चित खेलाडीहरूको सूचीमा स्टोक्स पनि थपिएका छन्। इङ्ल्यान्डले आगामी साताबाट भारतविरुद्ध पाँच टेस्टको शृंखला खेल्नेछ। स्टोक्सको स्थानमा क्रायग ओभरटनलाई समावेश गरिएको छ।

‘तत्काल लागू हुने गरी बेन स्टोक्स अनिश्चितकालका लागि सबैखाले क्रिकेट गतिविधिबाट अलग भएका छन्,’ इङल्यान्ड र वेल्स क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्टोक्सले इङ्ल्यान्ड टेस्ट टोलीबाट नाम फिर्ता लिएका छन्। उनी आगामी साताबाट भारतविरुद्ध सुरु हुने टेस्ट शृंखलाका लागि टोलीमा समावेश थिए। उनले मानसिक रूपमा फिट रहन भन्दै विश्राम लिएका हुन्। गत महिनाबाट क्रिकेटमा फर्किए पनि उनको औंलाको चोटसमेत पूर्ण रूपमा निको भइसकेको थिएन। इसिबी स्टोक्सको निर्णयको सम्मान गर्छ। उनले खुलेर आफ्नो निर्णय दिए। त्यसका लागि विशेष धन्यवाद।’

गत महिना इङ्ल्यान्डका खेलाडी र पदाधिकारी गरी ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएसँगै पूरा टोली नै आइसोलेसनमा बसेको थियो। त्यसपछि भने स्टोक्सले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि घोषित नयाँ टोलीको कप्तानी गरेका थिए।

टोेकियो ओलम्पिकमा दुई दिनअघि बाइल्सले दुई स्पर्धाबाट नाम फिर्ता लिएकी थिइन्। उनले पनि मानिसक रूपमा पूर्ण रूपमा तयार नभएकाले सो स्पर्धाबाट नाम फिर्ता लिएको बताएकी थिइन्। यसअघि ओसाकाले पनि मानसिक रूपमा तयार नभएको भन्दै फ्रेन्च ओपनको तेस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन्। विम्बल्डनसमेत त्यागेकी ओसाकाले टोकियो ओलम्पिकमा भने जापानी टोलीको झन्डा बोकेकी थिइन्। 

प्रकाशित: १७ श्रावण २०७८ ०३:४९ आइतबार

मानसिक समस्यामा खेलाडी स्टोक्सको अनिश्चितकालीन विश्राम