खेल

विश्वच्याम्पियन बाहिरिइन्

दुई सय मिटरकी विश्वच्याम्पियन स्प्रिन्टर डिना असर स्मिथले ह्याम्स्ट्रिङ इन्जुरीका कारण जारी टोकियो ओलम्पिक २०२० मा यस विधाबाट बाहिरिने निर्णय लिएको बताएकी छन्। यसै ओलम्पिकमा सय मिटरको फाइनलमा पुग्न असफल भएकी स्मिथले भावुक हुँदै ओलम्पिकअगाडि पनि ह्याम्स्ट्रिङले समस्या गरेको उल्लेख गरेकी थिइन्। 

‘म बाहिरिँदै छु। विश्व च्याम्पियन भएकाले ममा जिम्मेवारी पनि थियो र राम्रो तयारी गरिरहेको थिएँ,’ ब्रिटेनकी डिनाले भनिन्, ‘पछिल्ला केही हप्ता मेरो खेलाडी जीवनमा समस्या उत्पन्न भइरहेका छन्।’ २५ वर्षीया डिनाले टोकियो यात्रा गर्नुअघि पनि आफू ह्याम्स्ट्रिङ परीक्षणमा झन्डै बाहिरिनुपर्ने अवस्था सिर्जना भएको र तर पछि चिकित्सकको सल्लाहमा समस्या नदेखिएपछि ओलम्पिकमा प्रतिस्पर्धाको बाटो खुलेको बताइन्।

‘अझै पनि ह्याम्स्ट्रिङले समस्या दिइरहेको छ र सय मिटरमा पनि राम्रो प्रदर्शन गर्न सकिनँ। त्यसैले आगामी विधामा बाहिरिने निर्णय लिएको हुँ,’ उनले भनिन्। सोमबार दुई सय मिटरको हिट्स सुरु हुँदै छ, तर उनले आफू नदौडिने निर्णय लिइसकेकी छन्। दुई वर्षअगाडि दोहामा सम्पन्न विश्व च्याम्पियनसिपमा उनी दुई सय मिटर दौडकी च्याम्पियन हुन्। ह्याम्स्ट्रिङकै कारण उनले ब्रिटिस ग्रान्ड प्रिक्सबाट पनि आफ्नो नाम फिर्ता लिएकी थिइन्। 

तथापि, ओलम्पिक हुनुअघि अगाडि उनी फिट रहेको र प्रतिस्पर्धा गर्न सक्ने बताइएको थियो। तर, उनी सय मिटर दौडको सेमिफाइनलमा ११.०५ सेकेन्डका साथ तेस्रो स्थानमा खुम्चिन्। उनको त्यो समय फाइनलमा स्थान बनाउन पर्याप्त भएन। ‘फाइनलमा पुग्न असफल भएकाले निकै दुःखी छु। मैले पछिल्ला दुई वर्ष जुन हिसाबले तयारी गरेकी थिएँ,त्योअनुरूप हुन सकेन,’ उनले भनिन्। 

प्रकाशित: १७ श्रावण २०७८ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App