खेल

लोमान्थाङमा फुटबल र भलिबल प्रतियोगिता सुरु

खेलाडीलाई खोप लगाउन दुईदिन पछाडि सारियो प्रतियोगिता

प्रतियोगितामा सहभागिता जनाएको लोमान्थाङ युवा क्लब

अरु जिल्लामा खेलकुद सुनसान छ। तर, हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक सुरु भएको छ। अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन्। स्थानीयबासीमा खेलकुदको उत्साह छ।  

बिहीबारदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाकमारमा ‘तेस्रो छोक्याल जिङ्मी स्मृति कप’ खेलकुद प्रतियोगिता शुरु भएको छ। गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले उदघाटन गरे । आयोजकको जिम्मेवारी जनचेतना युवा क्लबको काँधमा छ। आयोजना वर्षेनी फरक फरक युवा क्लबले गर्दै आएको छ। प्रतियोगिता आयोजना गर्न वर्षेनी क्लबहरुले गोला थुत्छन्। गोला थुतेर जसलाई पर्छ उसैले खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी लिन्छन्।  

प्रतियोगितामा फुटबल र भलिबल खेलाईन्छ । लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाँउपालिकाका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । ‘उपल्लो मुस्ताङको दुई गाँउपालिकाका क्लबले मात्रै प्रतिस्पर्धा गर्न पाउँछन् । अन्यले पाउँदैनन ।’ आयोजक जनचेतना युवा क्लब लोमान्थाङका अध्यक्ष भुजुङ गुरुङले भने, ‘फुटबल र भलिबलसँगै अन्य साँस्कृतिक कार्यक्रम समेत हुन्छ ।’ प्रतियोगिता दुई दिन अघि आयोजना गर्ने निर्णय गरिएको थियो । तर कोरोना विरुद्धको खोपकै कारण तीनदिन पछि सारियो । ‘१८ वर्षमाथिको खेलाडी तथा अन्य सर्वसाधारणले खोप लगाईसकेका छन्,’लो घेकर दामोदरकुण्ड गाँउपालिका–२ का वडासदस्य थुक्तेन छिरिङले भने,‘खोप कै कारण दुईदिन प्रतियोगिता पछि सारिएको हो।’  

क्लबका अध्यक्ष गुरुङका अनुुसार भलिबल र फुटबल प्रतियोगितामा विभिन्न १३ क्लबका १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । भलिबल बेष्ट अफ थ्री र फाईनल मात्रै बेष्ट अफ फाईभमा प्रतिस्पर्धा गर्ने छन् । फुटबल भने १० जना खेलाडी मैदानमा उत्रिने छन् । ‘एकटिममा १० जना खेलाडी मैदानमा उत्रिने नियम छ’ क्लबका अध्यक्ष गुरुङले भने, ‘मैदान केही सानो छ त्यही भएर दशजना खेलाडी मैदानमा खेल्नेछन्।’ 

उनका अनुसार फुटबल मैदान ८० मिटर लम्बाई र ५५ मिटर चौडाईको छ । प्रतियोगितामा फुटबल विजेताले १ लाख १ हजार १ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड पदक तथा प्रमाणपत्र पाउने छन् । उपविजेताले ५० हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्ने छ। भलिबल तर्फ विजेताले ७५ हजार र उपविजेताले ३७ हजार पाँच सय ५ रुपैयाँ नगद पुरस्कार थाप्ने छन्। 

प्रकाशित: १४ श्रावण २०७८ ०७:५१ बिहीबार

लोमान्थाङ खेलकुद