खेल

फरक टोलीबाट दुई दाजुभाइ

यसै हप्ता सामाजिक सन्जालमा टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका सिरियाका दुई दाजुभाइको फोटोले निकै चर्चा पायो। त्यो फोटो थियो, युद्धको भुमरीमा रहेको सिरियाका दाजुभाइ मोहम्मद मासो र आला मासाको।  

ओलम्पिकको उद्घाटन समारोहमा दाइ मासो र भाइ आला अंकमाल गरिरहेका थिए। तर, उनीहरू फरक टोलीबाट चुनौती प्रस्तुत गर्दै थिए। मासो ट्रायथोलनका खेलाडी हुन् र आफ्नो देश सिरियाका लागि प्रतिस्पर्धा गर्दै थिए। भाइ आला भने ओलम्पिक शरणार्थी टोलीबाट स्विमिङका खेलाडी हुन्। सञ्चारमाध्यम र सामाजिक सन्जालका प्रयोगकर्ताले सिरियामा भएको द्वन्द्वका कारण दाजुभाइ छुट्टिनुपरेको र धेरै पछि भेटेर अंकमाल गरेको भन्दै फोटो पोस्ट गरेका थिए। तर, उनीहरूले भनेको जस्तो भने सबै यथार्थमा थिएन। उनीहरू सिरियाको एलेप्पो सहरका हुन्। तर, अहिले उनीहरू आफ्ना परिवारका साथमा जर्मनीमा बस्छन्।  

सिरियामा बस्ने अवस्था नभएकाले उनीहरूका अभिभावक सन् २०१५ मा युरोप सरेका थिए। ‘त्यो फोटोले यति धेरै चर्चा पाउला भन्ने सोचेका थिएनौं,’ सिरिया स्पोर्ट्स फेडेरेसनका कम्युनिकेसन म्यानेजर सफवानले भने, ‘मोहम्मद र आला दुवै जर्मनीमा बस्छन्। उनीहरूसँगै टोकियो आएका थिए। उनीहरूका केही सदस्य सिरियामा नै बस्छन्। एकअर्काबीच अंकमाल गरेर उनीहरूले खुसी साटिरहेका थिए। तर, केही सञ्चारमाध्यम र सामाजिक सन्जाल प्रयोगकर्ता त्यो तस्बिरलाई अर्कै अर्थमा मोडिदिए।’ सफवानका अनुसार २१ वर्षे आलाले नै आइओसीको शरणार्थी टोलीबाट खेल्ने निर्णय गरेका थिए र उनलाई सिरियाले आफ्नो टोलीमा राख्न अस्वीकार गरेको थिएन।

यसै महिना आलाले पौडीले आफूलाई द्वन्द्वसँग लड्न सिकाएको बताएका थिए । सिरियाको गृहयुद्धमा करिब पाँख लाखभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौं घरबारविहीन भएर अन्यत्र सार्न बाध्य छन्। सरकारविरुद्धको प्रदर्शनमा कयौं संरचनाहरू ध्वस्त भएका छन्। जसका कारण सन् २०१२ देखि २०१४ सम्म आलाले प्रशिक्षण गर्न पाएनन् र जर्मनीमा बसाइ सरेपछि मात्र उनले आफ्नो खेल सुरु गर्न पाएका थिए। ‘खेलकुदले नै मलाई खराब स्थितिबाट निकाल्न मद्दत गरेको छ। प्रशिक्षण र खेलले मेरो जीवनमा निकै सकारात्मक परिवर्तन ल्याएको छ। देशभित्र नयाँ सूर्याेदयको पर्खाइमा छु,’ आलाले भनेका थिए।  

२८ वर्षे मोहम्मदले भने सानैदेखि आफ्नै पिताको प्रशिक्षणमा ट्रायथोलन खेलेका थिए। सिरियाबाट टोकियो ओलम्पिक खेल्ने ६ खेलाडीमध्ये एक मोहम्मद पनि हुन्। उक्त टोलीमा १२ वर्षीया टेबल टेनिस खेलाडी हेन्डी जाजा पनि छिन्। उनी सन् १९६८ पछि सबैभन्दा कान्छी उमेरकी खेलाडी हुन्। तर, जाजाको चुनौती पहिलो चरणमा नै समाप्त हुन पुग्यो। ओलम्पिकको शरणार्थी टोलीमा सिरियाका कयौं खेलाडी छन्, तीमध्ये एक स्विमिङका युसरा मार्दिनी पनि। उनले पाँच वर्षअगाडि रियो ओलम्पिकमा पनि प्रतिस्पर्धा गरेका थिए । सन् १९४८ को लन्डन ओलम्पिकदेखि प्रतिस्पर्धा थालेको सिरियाले तीनवटा पदक जितेको छ, जसमा एक मात्र स्वर्ण सन् १९९६ को एटलान्टा ओलम्पिकमा हेप्टाथोलनकी घादा सोउआले जितेकी थिइन्।

प्रकाशित: १२ श्रावण २०७८ ०३:३४ मंगलबार

टोकियो ओलम्पिक