निकोलस पुरन र जेसन होल्डरको अर्धशतकीय प्रेरणाबाट वेस्ट इन्डिजले अस्ट्रेलियामाथि दोस्रो एकदिवसीय खेलमामा चार विकेटको जित निकाल्दै तीन खेलको शृंखलामा पुनरागमन गरेको छ।
बार्बडोसमा भएको दोस्रो खेलमा पुरन र होल्डरको ब्याटिङ प्रेरणामा वेस्ट इन्डिजले घरेलु मैदानमा अस्ट्रेलियासँगको शृंखलामा पुनरागमन गरेको हो। पाहुना टोली अस्ट्रेलियाको १ सय ८८ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले ७२ बलअगावै पूरा गर्यो। तर, एक समय ७२–५ को नाजुक अवस्थामा रहेको घरेलु टोलीका लागि पुरन र होल्डरले अनुशासित ब्याटिङ गर्दै जित दिलाए। म्यान अफ दी म्याच पुरनले अविजित ५९ रनको योगदान दिए। पूर्वकप्तान होल्डरले पनि ५२ रन जोड्दै पुरनलाई साथ दिए। यो जोडीले सातौं विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो।
यसैको मद्दतमा घरेलु टोलीले १२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाउन सफल भयो। यो नतिजासँगै सोमबार हुने अन्तिम तथा तेस्रो खेल नै शृंखलामा निर्णायक बन्ने भएको छ। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाका लागि गलत साबित भयो। अकिल हुसेनले छिट्टै तीन विकेट लिएपछि अस्ट्रेलिया ४५–६ कोे अवस्थामा पुग्नु नै क्यारेबियन टोलीको सफलताको कारण बन्यो। त्यसपछि म्याथ्यु वेडले सातौं विकेटका लागि मिचेल स्टार्कसँग ५१ रनको साझेदारी गर्दै अस्ट्रेलियन इनिङ उकासे। एडम जाम्पाले पनि नवौं विकेटका लागि वेस एगरसँग ५९ रनको साझेदारी गरेपछि अस्ट्रेलिया दुई सय रनको योगफलनजिक पुगेको थियो। अस्ट्रेलियाका लागि नवौं नम्बरका वेसले सर्वाधिक ४१ रन बनाएका थिए।
प्रकाशित: ११ श्रावण २०७८ ०३:३२ सोमबार