खेल

टोकियो ओलम्पिकको भव्य शुभारम्भ

आतसबाजीका साथ टोकियो ओलम्पिक–२०२० उद्घाटन गरिँदै। तस्बिर : एपी

जापानका नागरिकबाट व्यापक विरोधका बीच ३२औं गीष्मकालीन ओलम्पिक शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोभिड–१९ को महामारीका कारण जापानिज नागरिक आयोजनाको विपक्षमा रहे पनि राजधानी टोकियोमा एक विशेष कार्यक्रमबीच टोकियो ओलम्पिक २०२० को औपचारिक शुभारम्भ गरिएको हो।  

टोकियोस्थित ओलम्पिक स्टेडियममा भव्य समारोहबीच उद्घाटन हुनुअघि स्टेडियमबाहिर विरोध प्रदर्शन पनि भएको थियो। कोभिड–१९ को प्रोटोकलका कारण उक्त उद्घाटन समारोहमा खेलाडी र पदाधिकारी गरेर जम्मा ६ हजार सहभागी गरिएको थियो। महामारीका कारण एक वर्ष ढिला गरी सुरु ओलम्पिकमा कुल दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भए पनि मार्च पास्टमा सीमित खेलाडी र पदाधिकारी राखिएको थियो।

टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पास्टमा नेपालको झण्डा पौडीका खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए। उनीहरूसँगै नेपालका थप ६ जना खेल पदाधिकारी पनि मार्च पास्टमा सहभागी थिए। उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति थियो। कार्यक्रममा जापानको संस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएका थिए।  

टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष हासिमोतो सेकोले इतिहासमै स्थगनको नजिक पुगिसकेको ओलम्पिक भव्य र सव्य रूपमा आयोजना गर्न पाउँदा खुसी लागेको बताइन्। ‘ओलम्पिक दोस्रो पटक जापानमा फर्किएको थियो। तर, इतिहासमै पहिलो पटक स्थगनको नजिक पनि पुगेका थियौं,’ उनले भनिन्, ‘विभिन्न चुनौतीलाई पार गर्दै हामीले प्रतियोगिताको उद्घाटन गर्न सफल भयौं। उद्घाटनसँगै हजारौंको आशा, विश्वास र सपना पनि साकार हुँदै जानेछ।’

यसैगरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले विभिन्न चुनौतीका बाबजुद पनि सबैको आशा र विश्वासको प्रतीक रहेको ओलम्पिक सुरु भएको बताए। टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडी पौडीका गौरिका र एलेक्जेन्डर शाह, जुडोकी सोनिया भट्ट, सुटिङ खेलाडी कल्पना परियार र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छन्। सरस्वती चौधरी भने आइतबार मात्रै जापान जानेछिन्। उनी नेपालमै तयारीमा व्यस्त छिन्।

नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल रहेका छन्। टोकियो ओलम्पिकमा परिषद्बाट बोर्ड सदस्य सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ पनि सहभागी छन्। नेपाल ओलम्पिक कमिटीबाट अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, सहमहासचिव पीताम्बर तिम्सिना, सचिव तुलसा थापा र सदस्य प्रकाशशमशेर राणा एवं राम अवाले पनि जापान पुगेका छन्।  

यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, मेडिकलतर्फ डा. नविसमासिंह प्रधान, नेपाली दूतावासका कर्मचारी प्रेम बराल र स्वयंसेवक रूपेश डंगोलले पनि टोकियो ओलम्पिकमा नेपाली टोलीको प्रतिनिधित्व गरेका छन्। ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ सुटिङको व्यवस्थापकका रूपमा टोकियो ओलम्पिकमा सहभागी हुनेछन्। पीताम्बरलाई भने एथ्लेटिक्सको व्यवस्थापकको जिम्मेवारी दिइएको छ।  

संघीय सांसदसमेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा थापा र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा जुडोको व्यवस्थापक बनेर टोकियोको सयर गर्दै छन्। टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेका पौडी, एथ्लेटिक्स, सुटिङ र जुडो संघका कोही पनि पदाधिकारी भने जापान जाने टोलीमा परेका छैनन्। उनीहरूको स्थानमा ओलम्पिक कमिटीका पदाधिकारी व्यवस्थापकका रूपमा जापान पुगेका हुन् । नेपाली टोलीले जापानको टिकट काटेपछि व्यापक विरोध भएसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले भने जापान नजाने निर्णय गरेका थिए।  

टोकियो ओलम्पिकमा शनिबार नै नेपालका दुई प्रतिस्पर्धा हुनेछन्। जसअन्तर्गत जुडोकी खेलाडी सोनिया भट्टले ४८ केजीमुनि पहिलो चरणमा शनिबार रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्। सुटिङकी कल्पना परियारले पनि शनिबार नै महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्।

आगामी अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। सरस्वतीले महिला एक मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ९ श्रावण २०७८ ०१:०१ शनिबार

टोकियो ओलम्पिक शुभारम्भ