खेल

अस्ट्रेलियाको बंगलादेश भ्रमण अर्काे महिना

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने भएको छ। बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीबार ट्वान्टी–२० शृंखलाका लागि अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने जानकारी दिएको हो। हाल वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलिया बंगलादेशसँगको ट्वान्टी–२० शृंखला खेल्न जुलाई २९ मा ढाका पुग्ने तालिका छ । तीन दिनको ढाका बसाइपछि भ्रमणकारी टोली अस्ट्रेलियाले अगस्ट ३, ४, ६, ७ र ९ तारिखमा पाँच ट्वान्टी–२० खेल खेल्नेछ। सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशाला ढाकामा हुने खेल बन्द रंगशालामा हुनेछ।  

बिसिबीका कार्यकारी प्रमुख नाजिम उद्दिन चौधरीले कोरोना महामारीको समयमा शृंखला आयोजना गर्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन्। ‘तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्दै शृंखला आयोजना गर्ने योजनामा छौं। भ्रमणको क्रममा खेलाडी, पदाधिकारी, म्याच अफिसियल्स र अन्य कर्मचारीलाई सुरक्षा प्रदान गर्नेछौैं,’ बिसिबीका प्रमुख कार्यकारीले नाजिम उद्दिनले भने। दक्षिण एसियामा कोरोना महामारी भएको अवस्थामा बंगलादेशमा कोरोना संक्रमण फैलिने डर अलि बढी छ। हालै मात्र सकिएको मुस्लिमहरूको चाड बकरिदपछि बंगलादेश सरकार आउँदो साताबाट कडा लकडाउन गर्ने योजनामा छ। 

प्रकाशित: ८ श्रावण २०७८ ०४:१० शुक्रबार

अस्ट्रेलिया बंगलादेश