खेल

पलेशाबाट पदकको आशा

यस पटक जापानमा हुने पारालम्पिकमा नेपालको तर्फबाट एउटा मात्र पारा खेलाडीका रूपमा तेक्वान्दोकी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दै छिन्।  

पलेशाले वाइल्ड कार्डमातर्फत पारालम्पिक खेल्ने भएकी हुन्। सन् २०१३ देखि पारा तेक्वान्दोको सुरुआत गरेको नेपालले पारालम्पिकमा तेक्वान्दोको पहिलो सहभागितामा नै प्रतिस्पर्धा गर्ने अवसर पाएको हो। यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पहिलो पटक पारा तेक्वान्दो डेमोन्स्ट्रेसन खेलका रूपमा सहभागी थियो। यस संस्करणदेखि अन्तर्राष्ट्रिय पारा ओलम्पिकले पारा तेक्वान्दोलाई पनि ओलम्पिकमा समावेश गर्दा नेपालले पनि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको पारालम्पिकमा नेपालकी पलेशा भाग्यमानी खेलाडी साबित भइन्। अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लागेकाले छनोट चरण खेल्न नपाएपछि नेपालले सिनियर खेलाडी रञ्जना धामी र पलेशाको नाम वाइल्ड कार्डका लागि सिफारिस गरेको थियो। तर, पलेशाले मात्र वाइल्ड कार्ड पाइन्।

 पारालम्पिकमा तेक्वान्दोले वाइल्ड कार्ड प्राप्त गर्दा पलेशा जति खुसी थिइन्, त्यसको तुलनामा नेपाल तेक्वान्दो संघ, पारा कमिटी र पाराका प्रशिक्षक त्योभन्दा बढी हौसिएका थिए। नहौसियून् पनि किन ? सन् २०१३ देखिको मिहिनेतको फल संघ र पारामा योगदान पुर्‍याएका प्रशिक्षकलाई मिलेको थियो।

‘म कोरिया जाँदा यादव कुँवरबाट (पारा तेक्वान्दोकै पहिलो खेलाडी) पहिलो पटक सुनेको थिएँ। त्यहाँ काम गर्ने सिलसिलामा उसको हात काटिएको रहेछ। पछि उही नेपाल आएपछि त्यसको सुरुआत हुन थाल्यो। त्यसपछि छोटो समयको अन्तर्राष्ट्रिय सहभागितामा पनि सुखद नतिजा ल्याउन सफल भयौं,’ पारा तेक्वान्दोको स्थापनादेखि नै विशेष भूमिका निर्वाह गर्दै आएका दीपक विष्टले भने,‘वाइल्ड कार्ड प्राप्त गर्दा निकै खुसी थिएँ र यादवलाई पनि सम्झिएँ।’ पहिला संघले नै पारा तेक्वान्दोको गतिविधि अगाडि बढाउने गर्दथ्यो। तर, पछि पारा तेक्वान्दो कमिटीमार्फत त्यसको गतिविधि अगाडि बढाइँदै आइरहेको छ।

निकै आरोह र अवरोहरूका बीच नेपालमा पारा तेक्वान्दो सुरु भएको दशकनजिक पुग्न लागिसकेको छ । यसबीच नेपालले चौथोदेखि आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप, एसियन च्याम्पियनसिप र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिसकेको छ। पहिलो पटक सहभागिता जनाउँदा यादव कुँवरले नै कांस्य पदक जितेका थिए। दोस्रो सहभागितामा भने कुँवरले रजत पदक जिते । त्यसपछि नै नेपालमा पारा तेक्वान्दोको माहोल बढ्न थाल्यो ।

 छैटौं विश्व च्याम्पियनसिपमा नेपाल पदकविहीन रह्यो । सातौंमा रञ्जना धामीले कांस्य पदक जितिन्। आठौंमा भने पहिलो पटक पुम्सेमा प्रतिस्पर्धा गर्दा विक्रम श्रेष्ठ कांस्यमै सीमित भए।  

‘छोटो समयमा नै धेरै सफलता पाइसकेका छौं। यसबीचमा हामीलाई धेरै व्यक्ति र संस्थाले सहयोग गरिसक्नुभएको छ। त्यसैले उहाँहरूको कदर र योगदानको प्रतिफल दिने अवसर पारालम्पिक हुनेछ,’ पारा तेक्वान्दोका सचिवसमेत रहेका दीपकले भने। पलेशाले टोकियो पारालम्पिक खेल्ने भएपछि उनका पूर्वप्रशिक्षक, वर्तमान प्रशिक्षक, पारा कमिटी र संघ निकै उत्साहित थिए। पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण कुँवरले यस पटकको सहभागितालाई पारालम्पिक संघ र पारा कमिटीको अथक योगदान र कयौं पारा तेक्वान्दो खेलाडीको मिहिनेतको प्रतिफल प्राप्त गर्ने अवसरका रूपमा लिएका छन्।

‘संघ, कमिटी र खेलाडीको संयुक्त मिहिनेतले वाइल्ड कार्ड पाएका छौं। यहाँसम्म आइपुग्दा पारा तेक्वान्दोमा दुई दर्जनभन्दा बढी खेलाडीले पसिना बगाएका छन् र उनीहरूको मिहिनेत पनि उत्तिक्कै छ। अवसर पायौं र अब त्यो अवसर सदुपयोग गर्ने समय आएको छ,’ पूर्वप्रशिक्षक कल्याणले भने। 

तथापि, संघले वाइल्ड कार्ड प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो। पारा तेक्वान्दोको सुरुआत गर्ने दक्षिण एसियामा नै नेपाल हो। तुलनात्मक रूपमा दक्षिण एसियाका छिमेकी देशभन्दा नेपालको सफलता केही बढी नै पनि छ। नेपालले विश्व च्याम्पियनसिपमा पनि पदक ल्याइसकेको छ। एसियाली प्रतिस्पर्धामा पनि नेपालको प्रभुत्व रहँदै आएको छ।

तर, छनोटमातर्फत पारालम्पिक खेल्न भने नेपालको योजना सफल भएन। जोर्डनमा भएको पारा ओलम्पिक छनोट गुमाइसकेकाले नेपालसँग वाइल्ड कार्डको दोस्रो विकल्प थिएन। संघले पारामा रञ्जना र पलेशाको नाम सिफारिस गरेको थियो। रञ्जन पाराकी पुरानै खेलाडी थिइन्। एक वर्षअगाडि नै पारालम्पिक भएको भए रञ्जनाको सम्भावना पनि प्रबल रहन्थ्यो। तर, उनको के–४४ विधाअन्तर्गत ४९ केजीमुनि भारतीय खेलाडी अरूणालाई वाइल्ड प्रदान गर्‍यो।  

त्यसपछि पलेशाको मात्र आशा रह्यो। पलेशाले वाइल्ड कार्ड पाउँदा लामो समयदेखि संघ, पारा कमिटी र प्रशिक्षकले गरेको मिहिनेतले सार्थकता पाउँथ्यो। सम्भव भएसम्म बाह्रै महिना प्रशिक्षण गर्ने पारा तेक्वान्दालाई पनि पारालम्पिक गुमेको खण्डमा निरुत्साहित बनाउँथ्यो। तथापि, विश्व तेक्वान्दो (डब्लुटी), आयोजक र अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीको निर्णयले नेपाललाई एउटा कोटा दियो।  

पलेशाको पनि पारालम्पिक खेल्ने सपनाले मूर्त रूप पायो। त्योभन्दा बढी संघ, पारा तेक्वान्दो कमिटी र प्रशिक्षकलाई त्यो सन्देशले निकै खुसी बनायो। ‘हामी वाइल्ड कार्ड पाउँछौं भन्नेमा ढुक्क थियौं। प्राविधिक कारणले कनफर्म गर्न मात्र बाँकी थियौं,’ दीपकले भने। ‘त्यसअघि धेरै अन्तर्राष्ट्रिय खेलहरू गुमाएको थिएँ, त्यसैले वाइल्ड कार्ड पाउदिनँ कि भन्ने लागेको थियो। तथापि, त्यो अवसर पाउँदा निकै खुसी भएँ,’ पलेशाले भनिन्। 

आगामी अगस्ट २४ देखि टोकियोमा नै पारालम्पिक हुँदै छ। नेपालले तेक्वान्दोमा सेप्टेम्बर २ मा प्रतिस्पर्धा गर्दै छ। त्यसका लागि पलेशा दुई महिनादेखि प्रशिक्षणमा छिन्।  

‘बिहान र बेलुका दुई समयमा अभ्यास गरिरहेको छु। १३औं सागमा स्वर्ण पदक विजेतासँग सेन्सर सिस्टम अभ्यास पर्ने अवसर पाएको छु, त्यसैले गर्दा मलाई थप आत्मविश्वासी बनाएको छु,’ पलेशाले भनिन्, ‘धेरै अनुभव पाइसकेँ। अब जित्ने समय आएको छ। नेपालबाट पारालम्पिक सहभागी हुने पहिलो तेक्वान्दो खेलाडी हुँ र यो अवसरलाई त्यतिकै खेर जान दिन्नँ।’ 

नेपालले बन्द प्रशिक्षणमा बसेर तयारी थालेको भने एक महिना भैसकेको छ। पारा कमिटीले आफैँ खर्च जुटाएर तयारी गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तयारीमा खर्च दिने आश्वसन दिएको छ। तथापि, पारा तेक्वान्दोको तयारीमा भने कुनै कमी आएको छैन। टोलीका प्रशिक्षक कविराज नेगी लामाले तयारी राम्रो भएकाले नतिजा राम्रो आउनेमा आशावादी रहेको बताए। 

‘पारालम्पिकमा प्रयोग हुने प्रविधिमा अभ्यास सुरु गरेका छौं। इन्डुरेन्सका लागि बिहान र बेलुका टेक्निकमा ध्यान दिएर अभ्यास गराएका छौं। पलेशाले पनि मिहिनेत गरेकी छिन्,’ प्रशिक्षक कविराजले भने, ‘पारालम्पिकमा पलेशाको मुख्य प्रतिद्वन्द्वी रसिया, डेनमार्क, चीन र टर्कीका खेलाडी हुन्। 

उनीहरूसँग पलेशाले खेलिसकेकी छन्। ओलम्पिकको टेस्ट च्याम्पियनसिपमा पनि विश्व च्याम्पियनलाई पलेशाले चुनौती दिएकी थिइन् र तयारी पनि राम्रो छ, त्यसैले पदक जित्नेमा आशावादी छु।’

प्रकाशित: ६ श्रावण २०७८ ०४:१६ बुधबार

पलेशा