खेल

भेटिए हराएका खेलाडी

ओलम्पिक अभ्यास क्याम्पबाट भागेका युगान्डाका भारोत्तोलन खेलाडीलाई चार दिनपछि मंगलबार भेटाएको त्यहाँको पुलिसले जनाएको छ। जापानमा नै काम गर्ने इच्छा रहेको भन्दै नोट लेखेर भागेका भारोत्तोलन खेलाडीलाई पुलिसले खोजेर मंगलबार सार्वजनिक गरेको हो। कोरोना भाइरसको संक्रमण सर्वसाधारणमा फैलिने डर भएको भन्दै पुलिसले भागेका खेलाडीलाई खोज्न तीव्रता दिएको थियो।  

‘हराएका खेलाडी कुनै पनि अनैतिक क्रियाकलापमा संलग्न नभएको अवस्थामा भेटिएका छन्। उनी सकुशल भेटिएका छन्,’ ओसाकाको पुलिसले भनेको छ, ‘आफ्नो व्यक्तिगत परिचयपत्रसहित उनले आफ्नो पहिचान इमानदारिताका साथ दिएका छन्। उनलाई टोलीसँग पठाउने या राजदूतावासमा पठाउनेमा अनिश्चित छ। 

केही दिनमा टुङ्गो लाग्नेछ।’ २० वर्षे जुलियुस ओसाकानजिकै रहेको प्रशिक्षणस्थलमा तयारी गरिरहेका थिए। टोकियो ओलम्पिक खेल्न नपाउने भएपछि गत मंगलबार युगान्डाको टोली फर्किने तालिका थियो। तर उनले त्यहाँ नजिक रहेको ट्रेन स्टेसनमा नागोयाको टिकट काटेको देखिएको थियो। एक महिनाअगाडि जापान पुगेको युगान्डाको टिमका दुई जनामा कोरोना देखिएको थियो।

‘उनी निकटका व्यक्तिको घरमा बसेका रहेछन्। कुनै पनि बाधा पु¥याउने गतिविधि उनले देखाएनन्। विस्तृत जानकारी लिन अझै हामी प्रयास गरिरहेका छौं,’ पुलिस प्रशासनले भनेको छ। युगान्डाको टोली अघिल्लो महिनामा टोकियो पुगेको थियो।

जापान पुगिसकेपछि गरिएको स्वास्थ परीक्षणमा प्रशिक्षक र उनीहरूसँग आएका एक पदाधिकारीलाई कोरोना संक्रमणको पोजेटिभ संकेत देखिएको थियो। 

प्रकाशित: ६ श्रावण २०७८ ०३:५३ बुधबार

ओलम्पिक