खेल

ओलम्पिकमा भाइरसको त्रास

बाचद्वारा नअत्तालिन अपिल

कोभिड–१९ महामारीकै कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० सुरु हुन ९ दिन मात्र बाँकी छ। पछिल्लो केही दिनयता जापानका विभिन्न सहरमा कोभिड–१९ संक्रमितको संख्या उकालो लागेपछि प्रतियोगिताको सफल र सुरक्षित आयोजनाप्रति दुबिधा बढिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रमुख थोमस बाचले भने आफूहरू खेल सुरक्षित तवरले गर्न तयार रहेकाले नआत्तिन अपिल गरेका छन्।

जनवरीदेखि टोकियो सहरमा स्वास्थ्य संकटकाल जारी छ। जुन ओलम्पिकको सुरुआतपछि मात्र आंशिक रूपमा खुला गरिने जापान सरकारको तयारी छ। ओलम्पिकमा विदेशी समर्थकमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइसकिएको छ। स्थानीय समर्थकलाई समेत सीमित खेलस्थलमा मात्र प्रवेश अनुमति दिइएको छ। धेरैजसो खेलस्थलमा दर्शक प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ। जापानमा सहभागी राष्ट्रका खेलाडी आउने क्रम सुरु भइसकेको छ। त्यसैले पनि उच्च सतर्कता अपनाइएको बाचले दाबी गरे।

‘हामी जापानी नागरिकलाई स्वास्थ्य संकटमा पार्न चाहँदैनौं,’ बाचले भने, ‘कसरी टोकियो ओलम्पिक सुरक्षित तरिकाले सफल रूपमा आयोजना गर्न सकिन्छ भनेर लागि परेका छौं। हामी यसमै खटिरहेका छांै।’ ओलम्पिक भिलेजमा खटिने सबै कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै ओलम्पिकमा भाग लिने सबै खेलाडीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने कार्य सम्पन्न भइसकेको बताउँदै बाचले भने, ‘त्यसैले म सबैलाई ढुक्क भएर बसिदिनु हुन अनुरोध गर्दछु। म जापानी नागरिकसमक्ष ओलम्पिकमा सहभागी हुन आउने खेलाडीको न्यानो स्वागत गरिदिनुहुन अनुरोध गर्दछु।’

बाचले कोभिड–१९ महामारीका कारण ओलम्पिक एक वर्ष पछि धकेलिए पनि आयोजनाको जिम्मेवारीबाट पछि नहटेकाले जापानप्रति आभारी रहेको बताए। साथै उनले जापानी नागरिकले देखाएको धैर्यप्रति पनि आभारी रहेको जोड दिए। जापानमा अन्य राष्ट्रजस्तो कोभिड–१९ महामारीको स्थिति भयावह नभए तापनि हालसम्म १५ हजार जापानी नागरिकले यो महामारीकै कारण ज्यान गुमाइसकेका छन्। जापानको कुल जनसंख्याको २० प्रतिशत नागरिकले मात्र कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएका छन्। जापानमा पटकपटक टोकियो ओलम्पिक २०२० को आयोजनालाई लिएर भएको विभिन्न सर्वेक्षणमा करिब ८० प्रतिशत मत ओलम्पिक स्थगित गर्नुपर्छ भन्ने पक्षमा थियो। ओलम्पिक जुलाई २३ बाट सुरु हुँदै छ।

प्रकाशित: ३१ असार २०७८ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App