खेल

रोकियो अन्ततः सपनासरहको यात्रा

प्रतियोगितामा दुखद सुरुआत गरेको डेनमार्कले युरो कप २०२० को समूहचरण पार गर्ने सायदै कसैले कल्पना गरेका थिए होलान्। समूहचरण पार नै सपनासरह रहेको डेनमार्कको यात्रा अन्ततः सेमिफाइनलमा गएर टुङ्गिएको छ।

समूह ‘बी’ मा रहेको डेनमार्क आफ्नो घरेलु मैदानमा फिनल्यान्डविरुद्धको खेलका लागि उत्रियो। खेलको ४३ औँ मिनेटमा मिडफिल्डर क्रिस्टियन इरिक्सन हृदयाघातका कारण मैदानमा ढले। मैदानमा प्राथमिक उपचारपछि जीवन जित्न सफल इरिक्सनको खेलजीवन भने दुबिधामा पर्‍यो। इरिक्सन विगत एक दशकमा डेनमार्कले पाएका सर्वोत्कृष्ट खेलाडी थिए। उनको दुखद बहिर्गमनले डेनिस टोली आत्तिएन। बरु युरो कप २०२० को सबै खेलमा प्राप्त गरेको सफलता इरिक्सनप्रति समर्पण गरिरह्यो।  

सो घटना घटेको तीन साताबीच डेनमार्कले सन् १९९२ को युरो कपमा जस्तै यस पटक पनि युरो कप विजेताको ताज पहिरिने संकेत गरेको थियो। तर बुधबार वेम्बलीमा डेनमार्कको युरो कप २०२० को यात्रामा पूर्णविराम लाग्यो। इङ्ल्यान्डले वेम्बलीमा उपस्थित ६५ हजार समर्थकमाझ डेनमार्कलाई २–१ ले हराउँदै पहिलो पटक युरो कप फाइनलको टिकट पक्का गर्‍यो। १–१ को बराबरीपछि अतिरिक्त समयमा धकेलिएको खेलमा डेनमार्कका योहकिम महेलले रहिम स्टर्लिङलाई लडाएपछि  

इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। डेनमार्कका लागि मैदानभित्र र बाहिर नायक साबित गोलकिपर कास्पर स्माइकलले इङ्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी रोकेका थिए। तर, रिबाउन्डमा प्राप्त बललाई केनले जाली चुमाउँदै इङ्ल्यान्डको फाइनल यात्रा पक्का गरे। ‘हामीले खेल हार्नु एउटा पक्ष होला तर यसरी हार्नु निकै दुखद हो। किनभने यी खेलाडीले अन्तिमसम्म लडाइँ जारी राखेका थिए,’ डेनमार्कका प्रशिक्षक कास्पर हिजुलम्यान्डले भने, ‘प्रतियोगितामा हाम्रो दुखद अन्त्य भयो।’

पहिलो खेलमा फिनल्यान्डसँग निराश बनेको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग हारेको थियो। आफ्नो प्रमुख खेलाडीको बहिर्गमनले अत्तालिएको डेनमार्क लगातार दुई हारले थप निराश बन्यो। तर अन्तिम खेलमा रूसविरुद्ध डेनिस टोलीले देखाएको उच्च मनोबल नै टोलीको सेमिफाइनलसम्मको यात्राको मुख्य कारक बन्यो। रूसविरुद्धको जितले तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा बस्दै अन्तिम १६ मा प्रवेश गरेको डेनमार्कले त्यहाँ वेल्सको चुनौती समाप्त पारेको थियो। क्वार्टरफाइनलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले हराएको थियो। मिकेल डम्सगार्डको फ्रिकिकमा अग्रता लिएको डेनमार्क काजरको आत्मघाती गोलले निर्धारित समयमा जितबाट टाढिएको थियो। ‘हामी उच्च आत्मबलले नै यहाँसम्म आइपुगेका हौं,’ हिजुलम्यान्डले भने, ‘म यहाँसम्मको यात्रा दौरान व्यवस्थापन टोलीले दिएको साथ बारे शब्दमा वर्णन गर्न सक्दिनँ। मेरा दुई खेलाडीले अर्को एक उत्कृष्ट खेलाडीको जीवन बचाए। साथै इरिक्सनको स्वास्थ्य उपचारमा संलग्न टोलीको भूमिका अहम् रह्यो। म समग्र राष्ट्रलाई धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: २५ असार २०७८ ०४:१८ शुक्रबार

डेनमार्क