खेल

अर्जेन्टिनालाई फाइनल प्रतिद्वन्द्वी देख्ने चाहना

 ब्राजिलका धेरै खेलाडी घरेलु मैदानमा भएको कोपा अमेरिकामा सहभागी हुन चाहँदैनथे। तर, पछि परिस्थिति फरक बन्यो। सोही ब्राजिली टोली मंगलबार पेरूमाथि १–० को जित निकाल्दै फाइनलमा पुगेको छ। जितपछि ब्राजिलका स्टार नेइमारले शनिबार माराकाना स्टेडियममा हुने फाइनलमा चिर प्रतिद्वन्द्वी अर्जेन्टिनालाई देख्न चाहेको बताएका छन्।

‘म अर्जेन्टिनालाई फाइनलमा देख्न चाहन्छु,’ निल्टन सान्तोस स्टेडियममा भएको खेलपछि नेइमारले भने, ‘त्यहाँ मेरा साथी धेरै छन्। त्यसैले उनीहरूका लागि उत्साह बढाउन चाहन्छु।’ रियो दी जेनेरियोमा भएको खेलपश्चात् नेइमारले ठट्यौली शैलीमा अर्जेन्टिनासँगको फाइनल ब्राजिलले जित्न बताए। सेमिफाइनलका अर्का प्रतिद्वन्द्वी अर्जेन्टिना र कोलम्बिया हुन् र यी दुईका विजेताले फाइनलमा घरेलु टोली ब्राजिलसँग चुनौती प्रस्तुत गर्नेछ। लियोनल मेसीको टोलीले मात्र यस कोपा अमेरिकामा ब्राजिलको जित अभियानलाई भेट्टाउन सकेको छ। ब्राजिलले ६ खेलमध्ये पाँच जित दर्ता गरेको छ, जहाँ अर्जेन्टिनाले त्यो आँकडा भेट्टाएको छ।

मंगलबार ब्राजिलले सान्तोस स्टेडियममा जित निकाल्दा नेइमारले फरक तरिकाले प्रभाव जमाएका थिए। ब्राजिलको एक मात्र गोल खेलेको ३४औं मिनेटमा सम्भव भएको थियो। जहाँ, नेइमारले पेनाल्टी क्षेत्रमा तीन डिफेन्डरलाई छकाएर मिलाएको पासमा लुकास पाक्वेटाले गोल गरे। २३ वर्षे पाक्वेटाले बेन्चबाट यस प्रतियोगिताको सुरुआत गरेका थिए, तर अहिले उनी ब्राजिलका लागि सर्वाधिक दुई गोल गर्ने खेलाडी भएका छन्। उनले मिडफिल्डका बललाई राम्रोसँग नियन्त्रण लिँदै नेइमारमाथिको दबाब पनि कम गरेका छन्। यता पेरू प्रतियोगिताबाट बाहिरिए पनि गोलकिपर पेड्रो गालेसेका लागि उक्त खेल राम्रो नै रह्यो।  

उनले दुई उत्कृष्ट बचाउ गर्दा १८औं मिनेटमा नजिकै दूरीबाट निस्तेज पारेका थि। यदि त्यो गोल भएको भए ब्राजिल उत्कृष्ट गोलअन्तरका साथ फाइनलमा पुग्ने थियो। तथापि, पेरूले समूहचरणमा ब्राजिलसँगै ४–० ले हारेको नतिजा दोहोर्‍याएन। खेलको दोस्रो हाफमा भने खेल फरक किसिमको देखियो। जहाँ पेरूका जियानलुका लापाडुलाले ब्राजिली गोलकिपर इडर्सनको परीक्षा लिइरहे। तर, सफलता पाउन भने सकेन।

ब्राजिल दशौं पटक कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा शनिबार हुनेछ। आयोजकद्वय कोलम्बियामा जनप्रदर्शन र अर्जेन्टिनामा कोभिड–१९ को भयका कारण अन्तिम समयमा यस संस्करणको प्रतियोगिता ब्राजिलमा सरेको थियो। सोही घरेलु मैदानको फाइदा ब्राजिली टोलीले लियो। ब्राजिलमा कोपा अमेरिका गर्ने निर्णय हुँदा त्यसको विरोधमा उत्रनेमध्ये कासेमिरो पनि एक थिए। ब्राजिलमा पनि कोभिड–१९ ले भयावह स्थिति टरेको थिएन, जसको कारण देशभित्र प्रतियोगिता गर्न हुँदैन भनेर व्यापक विरोध भइरहेको थियो। ब्राजिली फुटबल महासंघका अध्यक्ष रोजेरिया काबोक्लो पनि यौन उत्पीडनको आरोपमा बर्खास्तमा थिए। तर, पनि विरोधका बीच खेल भयो र ब्राजिलले फाइनलसम्मको यात्रा तय गर्‍यो।

प्रकाशित: २३ असार २०७८ ०२:५८ बुधबार