खेल

रंगशाला निर्माणका लागि ४५ करोड

कर्णाली प्रदेश सरकारले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि ४५ करोड रुपैयाँ छुट्याएको छ। यस अन्तर्गत प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड र एक जिल्ला, एक रंगशाला निर्माणका लागि १० वटै जिल्लामा एकएक करोड रुपैयाँ छुट्याइएको छ। संघीय सरकारले २०७५ सालमै सातै प्रदेशमा एकएक रंगशाला निर्माणको घोषणा गरेपनि कर्णालीमा खेलकुद पूर्वाधार निर्माण हुन सकेको थिएन्।

प्रदेश सरकारले २०८० मा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता कर्णालीमा आयोजना गर्नका लागि खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जानकारी दिए।

यसका लागि प्रदेश सरकारले प्रादेश रंगशालालाई प्रदेश गौरवको आयोजना घोषणा गरेको छ। ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पनि तिब्रग तिमा खेलकुदका पूर्वाधार निर्माण गर्नु अपरिहार्य छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘त्यसैले प्रदेश रंगशालालाई गौरवको आयोजना घोषणा गरेर आगामी आर्थिक वर्षका लागि ३५ करोड रुपैयाँ छुट्याएका छौं।’  

संघीय सरकारले प्रदेश रंगशालाका लागि तीन आर्थिक वर्षदेखि बजेट छुट्याए पनि काम हुन सकेको थिएन्। प्रदेश खेलकुद विकास समिति गठनसँगै कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति लिएको छ। समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले तीन आर्थिक वर्षमा संघीय सरकारबाट आएको २२ करोड रुपैयाँ फ्रिज भएको बताए। ‘संघीय सरकारबाट बजेट थोरै आउने र त्यो पनि खर्च नहुँदा कर्णालीमा खेलकुदका पूर्वाधारहरु निर्माण हुन सकेका छैनन्,’ उनले भने, ‘अब सरकारले रंगशाला निर्माणलाई प्रदेश गौरवको योजना घोषणा गरिसकेकाले समयमै काम सम्पन्न हुनेमा आशावादी छौं।’  

उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारीका लागि पनि दुई वर्षभित्र रंगशाला बनाइ सक्नुपर्ने बाध्यता रहेको बताए। ‘खेलकुदलाई प्रदेश सरकारले प्राथािकतामा राखेको छ, रंगशाला गौरवको आयोजनाका रुपमा घोषणा भएको छ,’ सदस्य–सचिव सञ्ज्यालले भने, ‘यो खेल क्षेत्रका लागि अत्यन्तै गौरवको विषय हो।’

प्रदेश रंगशाला निर्माणका लागि दुई अर्ब लाग्नेछ। रंगशालाभित्र दश हजार दर्शक अड्ने स्टेडियम, त्यसैमा फुटवल मैदान र एथलेक्टिस ट्याक, स्वीमिङ पुल, १५ सय दर्शक अट्ने कवर्ड हल, ह्याण्ड बल, बास्केट बललगायतका खेलका आउटडोर पूर्वाधारहरु निर्माण हुनेछन्। यस्तै पूर्व र दक्षिणतर्फ व्यवसायिक प्रयोजनका लागि एक सय २० वटा सटरहरु निकालिने छ।  

सरकारले गौरवको योजना घोषा गरिसकेकाले बजेटको कमी हुने छैन । ‘आगामी आर्थिक वर्ष संघीय सरकारबाट पनि गौरवको योजनाका लागि प्रयाप्त बजेट आउने अपेक्षा गरेका छौं,’ उनले भने, ‘दुई वर्षभित्रै निर्माण सम्पन्न गरेर राष्ट्रिय खेलकुद प्रतियोगीता सञ्चालन गर्नुपर्ने बाध्यता हामीसँग छ।’

यस्तै कर्णालीका १० वटै जिल्लामा रंगशाला निर्माणका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ छुट्याएको छ। ‘खेलकुदका क्षेत्रमा पछाडि परेको कर्णालीलाई पूर्वाधार निर्माण गर्दै दक्ष खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सरकारको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘त्यसका लागि खेल पूर्वाधारमा सरकारले ध्यान दिएको छ।’ उनले सबै जिल्लामा सुविधासम्पन्न खेलकुद रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षका लागि एकएक करोड रुपैयाँ छुट्याइएको बताए।  

प्रकाशित: २२ असार २०७८ ०५:१४ मंगलबार

कर्णाली प्रदेश रंगशाला