खेल

चार खेलाडीलाई उपचार खर्च

उपचारमा समस्या परेका विभिन्न खेलका चार खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले सोमबार उपचार खर्च उपलब्ध गराएको छ।

खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रूपैयाँ प्रदान गरेको हो। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठले ब्याडमिन्टनकी रञ्जना भट्ट, टेबल टेनिसकी मारिया थापा मगर, जुडोकी सुनीता बोहरा र उसुकी सिलु डंगोललाई उपचार खर्च उपलब्ध गराएको जानकारी दिएका हुन्। ब्याडमिन्टनकी रञ्जना र टेबल टेनिसकी मारियालाई समान ८० हजार रूपैयाँ प्रदान गरिएको थियो । जुडोकी सुनीता बोहरालाई ३० हजार र उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रूपैयाँ उपलब्ध गराइयो।

सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनीताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई हस्तान्तरण गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकमबराबरको चेक हस्तान्तरण गरे। चालू आर्थिक वर्षमा कोषले यी चार खेलाडीसहित कुल १३ खेलाडीलाई उपचार खर्चबापत जम्मा ११ लाख ३४ हजार ६ सय ५५ रूपैयाँ वितरण गरिसकेको छ। कोषले यसअघि पाँच खेलका खेलाडी र पूर्वखेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रूपैयाँ प्रदान गरिसकेको छ।

प्रकाशित: २२ असार २०७८ ०३:३४ मंगलबार

उपचार खर्च