खेल

कता होलान् बोडेका ‘मेसी’!

कोपा अमेरिकामा इक्वेडरलाई पराजित गरेपछि यतिबेला मेसी निकै चर्चामा छन्। मेसीको चर्चा चुलिँदै गर्दा मलाई भने करिब एक दशकअघि भक्तपुरमा बोडेमा एउटा खुट्टामा बुट र अर्को खुट्टामा चप्पल लगाएर मेसीको अंकित टिसर्टका साथ टुर्नामेन्ट खेल्दै गरेका किशोरको याद आयो।

त्यसो त मेसी चर्चामा आएको एक दशकभन्दा बढी भइसक्यो। एक दशकअघि पनि उनी उस्तै लोकप्रिय थिए। त्यतिबेला एएफसी च्यालेन्ज हेर्न आएका फिफा अध्यक्ष ब्लाटरले नेपाली टिममा ‘मेसी’ को कमी भएको सुनाएका थिए। राम्रो खेल्ने तर गोल गर्न नसक्ने नेपाली टिमका लागि गोल मेसिनको खाँचो भएको उनको भाव थियो।

संयोगले त्यही दिन भक्तपुरको नीलवराही नजिकको चौरमा ‘मेसी’ अंकित टिसर्ट लगाएर खेल्दै गरेका यी बालकले ध्यान खिचेका थिए। मेसी लेखिएको १० नंबर जर्सीमा सजिएका साना कदका यी खेलाडीको ड्रिवलिङ आकर्षक थियो नै त्योभन्दा अनौठो दृश्य उनको खुट्टामा देखिँदै थियो। मूलपानीको स्थानीय व्यायज क्ल्बसँग टुर्नामेन्ट खेल्न युनिक क्लब बोडेको तर्फबाट मैदानमा उत्रिएका १३ वर्षीय सुनेश थाले दायाँ खुट्टामा बुट अनि देब्रे खुटटमा चप्पल लगाएर उत्कृष्ट प्रदर्शन गर्दै थिए।  

उक्त दृश्य देखेपछि केहीबेर खेल नियालें अनि कुरा गर्न थालें। ‘देब्रे खुट्टाको जुत्ता क्यापटेन अचलले  लगाउनुभएको छ ’, उनले सुनाएका थिए, ‘त्यसैले मैलेचाहिँ दायाँ मात्र लगाएको हुँ।’  

दुवैलाई बुट लगाएर खेल्न रहर लागेकाले बाँडेको उनले सुनाए।  

बुझ्दै जाँदा यो एकजोडी जुत्ता पनि उनीहरूको गोलकिपर रनिश दोको रहेछ। ‘मलाई भन्दा उनीहरूलाई जुत्ताको आवश्यकता धेरै भएकाले लाउन दिएको हुँ,’ रनिशले सुनाएका थिए, ‘उनीहरू मिलेर गोल गरे मलाई पनि खुसी लाग्छ।’ 

नभन्दै उनीहरू दुई मिलेर पहिलो हाफमै टिमका लागि दुई गोलसहित ४ गोल गरे भने विपक्षीले पनि सबै गोल फर्काएर खेल बराबरीमा टुङ्गाए। ‘उसको खेल राम्रो देखेर हामीले नामनै मेसी राखेका हौ’, कप्तानले त्यतिबेला सुनाएका थिए, ‘ऊ निकै राम्रो खेल्छ।’  

किशोर पक्कै ठूलो भए होलान्। उनको खेल ठूलो भयो कि भएन पत्तो पाउन सकेको छैन अनि अर्को कुरा उनी मेसीकै फ्यान छन् कि उनको रुचि बद्लियो होला। त्योभन्दा पनि जान्ने इच्छा अर्को छ  फुटबल खेल्दै गरेको भए, उनले दुवै बुट किने कि किनेनन् होला?

प्रकाशित: २१ असार २०७८ ०८:४२ सोमबार

कता होलान् बोडेका ‘मेसी’!