खेल

युरो कप २०२०: गोलअन्तरमा डेनमार्क भाग्यमानी

रूसविरुद्ध ४–१ को फराकिलो जित निकालेको डेनमार्क गोलअन्तरमा भाग्यमानी बन्दै समूह ‘बी’ को उपविजेताका रूपमा युरो कप २०२० को अन्तिम १६ मा प्रवेश गर्दाको दिन मंगलबारै समूहचरणका सबै खेलमा स्पष्ट जित निकालेको बेल्जियम समूहविजेता भएको छ।  

डेनमार्कका क्रिस्टियन एरिक्सन फिनल्यान्डविरुद्धको पहिलो खेल खेल्ने क्रममा मैदानमा ढलेपछि सहानुभूति मिलेको टोलीलाई मंगलबारको फराकिलो जितले अन्तिम १६ को ढोका खुलेको हो। अघिल्लो चरण प्रवेश रोमाञ्चक भएको समूह ‘बी’ मा तीन टोलीको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा भाग्यमानी बन्दा डेनमार्कले युरो कपको जारी संस्करणमा अघिल्लो खुट्किलो सार्ने मौका पाएको हो।  

घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले समान एक गोल गरेका थिए। रूसका लागि आर्टम ज्युबाले सान्त्वना गोल फर्काउँदै अन्तर घटाएका थिए। पहिलो खेलमा फिनल्यान्डसँग १–० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो। यस्तै पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको रूसले दोस्रो खेलमा फिनल्यान्डलाई १–० ले हराएको थियो। अन्तिम १६ मा पुगेको डेनमार्कले क्वार्टरफाइनल प्रवेशका लागि वेल्ससँग प्रतिस्पर्धा गर्नेछ।  

घरेलु दर्शकको साथ पाएको डेनमार्कले रोमाञ्चक शैलीमा अन्तिम १६ मा स्थान बनाउँदा प्रशिक्षक कास्पर हियुलम्यान्डले अघिल्लो चरण प्रवेश गर्न गरेको प्रदर्शन ऐतिहासिक भएको प्रतिक्रिया दिए।  ‘कसैले यस्तो उपलब्धि प्राप्त गर्छन् भने ती हाम्रा खेलाडी हुन्,’ डेनमार्कका प्रशिक्षक हियुलम्यान्डले भने, ‘मैले कल्पना पनि गर्न सक्दिनँ। खेलाडीले कसरी पुनरागमन गर्दै अघिल्लो चरण प्रवेशका लागि खेले भनेर। यो प्रदर्शन ऐतिहासिक भएको छ।’

विजयी डेनमार्कका लागि दोस्रो गोल गरेका पाउलसेनले भाग्यले साथ दिँदा अघिल्लो चरणको यात्रा सम्भव भएको प्रतिक्रिया दिए। ‘सबै जनाले अहिले भाग्यले साथ दिएको भनिरहेका छन्। खेलअवधिको सही समयमा हामीले गोल गर्न सक्यौं,’ पाउलसेनले भने, ‘पहिलो पटक मेरो जीवनमा भाग्यले साथ दिएको अनुभूति भइरहेको छ।’ उता समूहविजेता बन्ने क्रममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गर्दा टोलीले एक गोल उपहार पायो।  

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता पाएको थियो। फिनल्यान्डका गोलकिपर लुकास हाडेकीले ७५औं मिनेटमा आत्मघाती गोल गरे। पोस्टमा लागेर फर्किएको थोमसको हेडर बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो। ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए। केभिन डी ब्रुएनाको पासलाई सदुपयोग गर्दै लुकाकुले जाली चुमाएका थिए। त्यसअघि ६५औं मिनेटमा लुकाकुको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएको थिएन। भिएआरमा लुकाकु अफसाइड पोजिसनमा देखिएका थिए।

प्रकाशित: ९ असार २०७८ ०५:४१ बुधबार

गोलअन्तरमा डेनमार्क भाग्यमानी