पानीको सहज निकास नहुँदा बर्सेनि हिमालयन गल्फ कोर्समा समस्या बल्झिन्छ। पोखरा–१४ छिनेडाँडास्थित हिमालयन गल्फ कोर्स विजयपुर खोलाको तटमा छ। तर खोलामा आउने बाढीको चिन्ता हुँदैन। चिन्त हुन्छ भने निर्माणाधीन पोखरा विमानस्थलबाट बग्ने पानीले।
निर्माणाधीन पोखरा विमानस्थलको पानीको सहज निकास छैन। निकास नहुँदा पानी अन्धाधुन्ध रनवेदेखि पश्चिम दक्षिण खस्छ। छहराको रूपमा झर्ने पानीले बर्सेनि गल्फ कोर्सलाई समस्यामा पुर्याउँछ। लगातार परेको झरीका कारण विमानस्थलबाट झरेको पानीले पहिरो खस्दै आएको छ। खसेको पहिरोले गल्फ कोर्सको ग्रिनमा समस्या निम्त्याउने गरेको छ।
‘विमानस्थलबाट आउने पानीको सहज व्यवस्थापन नहुँदा बर्सेनि गल्फ कोर्समा समस्या थपिने गरेको छ,’ हिमालयन गल्फ कोर्सका व्यवस्थापक भूबहादुर गुरुङ (भुवन) ले भने, ‘विमानस्थलले पानीलाई व्यवस्थापन गर्नेतर्फ गम्भीर बन्नुपर्छ।’ पानीको निकासका लागि नहर निर्माण गरिएको छ। बनाइएको नहरलाई अघिल्लो पटक आएको पानीको बहावले भत्काइदिएको छ। अहिले पनि नहरभन्दा बाहिरबाट पानी झर्ने गरेको छ। ‘नहरबाट भन्दा बाहिरबाट पानी बढी झर्दा पहिरो खस्ने गरेको छ’ उनले भने, ‘पहिरो खसिरहँदा विमानस्थलको ३/४ रोपनी जमिन खोलामा झरिसकेको छ।’
खसेको पहिरोले खोला किनारमै रहेको कोर्सको ग्रिन पुरिएको छ। वर्षायाम सुरु भएपछि चिन्तपीर बढ्दै जान्छ। बर्सेनि खोलासरी आउने पानीले कोर्समा क्षति पुर्याउँदा मर्मत गर्न बढी खर्च हुने गरेको छ। अघिल्लो पटक पनि वर्षायाममै पानी पश्चिम तर्फबाट झर्दा पहिरो खसेको थियो। त्यसले कोर्सको लाखौं रूपैयाँ खर्च बढाइदिएको गुनासो हिमालयन गल्फ कोर्सले गर्दै आएको छ।
‘विमानस्थलको पानीको निकासलाई सही ढंगले व्यवस्थापन गरिदिए बर्सेनि पहिरो खसेर मर्मत गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुने थियो,’ गुरुङले दुई दिनअघिको घटना सम्झँदै भने। हिमालयन गल्फ कोर्स विश्वकै नमुनाभित्र पर्छ। १८ होलको कोर्स पश्चिमतर्फ छैन। नेपालमा काठमाडौंको गोकर्ण गल्फ कोर्स, रोयल नेपाल गल्फ कोर्स, धरानको निर्वाणा गल्फ कोर्स छन्। पश्चिमतर्फ नवलपुरस्थित चौधरी समूह (सिजी) भित्रको ९ होलको कोर्स छ। त्यसबाहेक अन्यत्र भने गल्फ कोर्स छैन।
पोखरामै गण्डकी प्रदेश सरकारले गल्फ कोर्स र गल्फ एकेडेमी बनाउने चर्चा गरे पनि ठोस उपलब्धि भने भएको छैन। गल्फ कोर्ससँगै गल्फ एकेडेमी अत्यावश्यक भए पनि कोर्स निर्माण गर्नेतर्फ चासो दिनुपर्ने आवश्यकता छ।
प्रकाशित: ६ असार २०७८ ०३:३० आइतबार