खेल

युरो कप २०२०ः इटालीको सुखद सुरुआत

सीमित दर्शक उपस्थित भएको टर्कीविरुद्धको खेलमा शुक्रबार इटालीले ३–० को आकर्षक जित निकाल्दै एक वर्षपछि धकेलिएको युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।  

विश्वकप २०१८ मा छनोट हुन नसकेको इटालीले पाँच वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिता खेलेको हो। टर्कीविरुद्ध पहिलो मिनेटबाट नै दबाब दिएर खेलेको इटालीले अग्रता भने दोस्रो हाफमा लिएको थियो। पहिलो हाफमा आकर्षक गोलका लागि धेरै अवसर सिर्जना गरे पनि इटाली गोल गर्न असफल भएको थियो। झन्डै एक चौथाइ दर्शक उपस्थित भएको रंगशालामा इटालीले सबै गोल दोस्रो हाफमा गरेको हो।  

युरो कप २०२० को संस्करणमा पहिलो गोल नै आत्मघाती भएको छ। ५३औं मिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो। ६६औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीको अग्रता २–० मा पुर्‍याएका थिए। लिओनार्डो स्पिनाज्जोलाको प्रहार गोलरक्षक उगुर्चान चुकारले पन्च गर्दै बचाए पनि रिबाउन्डलाई इम्मोबिलेले गोल गरेका हुन। ७९औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० ले अघि बढाए। 

बाँकी समयमा थप गोल हुने सकेन र युरो कपमा इटालीले सानदार सुरुआत गर्‍यो। सुखद नतिजा निकालेको इटाली युरो कप इतिहासमा पहिलो पटक एकै खेलमा तीन गोल गर्न सफल भएको छ। १६ हजार दर्शक उपस्थित भएको रंगशालामा टर्कीसँगको जितले इटालीका समर्थकलाई खुसी मिलेको छ। यस जितसँगै इटालीले समूह ‘ए’ मा ३ अंकको खाता खोलेको छ।  

‘रोममा टर्की विरुद्धको जित हाम्रो लागि निकै महत्वपूर्ण रह्यो। जितले समर्थकलाई आत्मसन्तुष्टि मिलेको छ,’ इटालीलाई पछिल्ला २८ खेलमा अपराजित नतिजा दिलाएका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, ‘रंगशालामा उपस्थित दर्शकको समर्थनले टोलीलाई धेरै राहत मिलेको छ।’ उता पहिलो खेलमा पराजित भएको टर्कीका प्रशिक्षक सिनियोल गुनेसले पहिलो गोलपछि टोलीले सम्हालिको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया जनाए।  

‘हामी पराजयभन्दा अरू नतिजाको खोजीमा थियौं, तर इटालीले सुरुबाट नै दबाब दिएर खेल्यो,’ टर्कीका प्रशिक्षक गुनेसले भने, ‘पहिलो गोल भएसँगै टोलीमा राम्रो तालमेल मिलेन। बल पकडमा खेलाडी चुके।’ महिनाभर सञ्चालन हुने प्रतियोगिता यसअघि एक वा दुई राष्ट्रमा संयुक्त रूपमा आयोजना हुने गरे पनि अहिलेको प्रतियोगिता विभिन्न ११ देशमा सञ्चालन हुँदै छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०२:३७ आइतबार

युरो कप २०२० इटालीको सुखद सुरुआत