खेल

फ्रेन्च ओपनः नाडालसँग कठिन लडाइँ

नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा प्रवेशका लागि शुक्रबार राफाइल नाडालसँगको भिडन्तलाई सबैभन्दा ठूलो प्रतिद्वन्द्वीविरुद्धको ‘कठिन लडाइँ’ को रूपमा व्याख्या गरेका छन्।

बुधबार इटालीका माटियो बारेट्टिनीविरुद्ध ६–२, ६–२, ६–७ (५–७) र ७–५ को संघर्षपूर्ण जित निकाल्दै जोकोभिच ४०औं पटक ग्रान्ड स्लामको सेमिफाइनलमा प्रवेश गरेका छन्। ११औं पटक फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाउँदा उनी सन् २०१६ मा च्याम्पियन पनि भएका थिए। उनै जोकोभिच शुक्रबार कट्टर प्रतिद्वन्द्वी नाडालसँग ५८औं पटक आमनेसामने हुँदै छन्। यता, १३औं पटकका फ्रेन्च ओपन च्याम्पियन नाडालले पनि अर्जेन्टिनाका डिएगो स्कर्चमेनमाथि ६–३, ४–६, ६–४ र ६–४ को जित निकाल्दै पेरिसमा १४ पटक सेमिफाइनलमा स्थान बनाएका हुन्।

उनी पनि शुक्रबार आफ्नो ग्रान्ड स्लाम करियरको ३५औं सेमिफाइनल जोकोभिचविरुद्ध खेल्दै छन्। यी दुईबीचको भिडन्तले फाइनलकै झल्को दिनेछ भने स्पेनिस भाषाको ‘एल क्लासिको’ (उत्कष्ट भिडन्त) का रूपमा पनि व्याख्या गरिएको छ। ‘मेरो करियरकै उनी (नाडाल) निकै कठिन प्रतिद्वन्द्वी हुन्,’ विश्व नम्बर एक जोकोभिचले भने, ‘उनीविरुद्ध हुने खेल अन्यको भन्दा अर्कै सतह र भिन्न हुने गर्दछ। ठीकै छ एक पटक फेरि कठिन लडाइँ लडौं।’ पछिल्ला १५ वर्षमा जोकोभिचले नाडालसँगको नतिजा २९–२८ ले आफ्नो पक्षमा पारेका छन्। 

पेरिसमा भने नाडालले ७–१ को अग्रता बनाएका छन्। क्ले कोर्टमा पनि क्ले कोर्टका बादशाह नाडाल १९–७ ले अगाडि छन्। जोकोभिचले क्ले कोर्टमा स्पेनिस स्टार नाडालमाथि पाँच वर्षअगाडि रोममा जित निकालेका थिए। त्यसयता भने नाडाल नै हाबी छन्। क्ले कोर्टका बादशाह नाडालले पेरिसमा १ सय ५ जित निकाल्दा दुई हार मात्र बेहोर्नुपरेको छ। त्यो हारमध्ये एक सन् २०१५ मा जोकोभिचसँग नै थियो। फ्रान्सेली सरकारले राति ११ बजेपछि कर्फ्यू लगाएकाले फिलिप काट्रियर कोर्टमा रहेका ५ हजार दर्शकलाई स्टेडियमबाट बाहिर पठाउँदा जोकोभिचको चौथो सेट करिब २० मिनेट प्रभावित भएको थियो।

करियरको १९औं ग्रान्ड स्लाम अभियानमा रहेका जोकोभिच चारै ग्रान्ड स्लाम दुईभन्दा बढी पटक जित्ने खेलाडी बन्ने लक्ष्यमा पनि छन्। यता नाडालका लागि पनि पेरिस यादगार बन्न सक्नेछ। यदि उनले सेमिफाइनलसँगै आइतबारको फाइनल पनि जिते पुरुषतर्फ सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने खेलाडी बन्नेछन्। हाल उनी र रोजर फेडेरर पुरुषतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम विजेता खेलाडी हुन्।

प्रकाशित: २८ जेष्ठ २०७८ ०३:३१ शुक्रबार

फ्रेन्च ओपन नाडालसँग कठिन लडाइँ