खेल

साधारण सभा बोलाएकोमा आपत्ति

नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले कोरोना भाइरसको महामारीका समयमा संघले बोलाएको साधारणसभाप्रति आपत्ति जनाएका छन्।  

यद्यपि, नेपाली खेल संघका नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ ७ गते नै बक्सिङ संघलाई साधारणसभा स्थगित गर्न निर्देशन दिइसकेको थियो। तर, त्यसको पाँच दिनपछि बुधबार विज्ञप्ति जारी गर्दै महासचिव भट्टाचार्यले राखेपको पूर्वस्वीकृतिबिना साधारणसभा आह्वान गरिएको बताएका छन्। कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा नगर्न राखेपले निर्देशन दिएको थियो। राखेपको सोही निर्देशनपछि नै भर्चुअल माध्यमबाट गर्ने भनिएको साधारणसभा रोक्ने संघका अध्यक्ष राम अवालेले बताएका थिए।  

‘अभिभावक संस्था राखेपले नै स्थगित गर्नु भनेपछि नमान्ने कुरै भएन। पछि अवस्था सहज भएपछि गरौंला,’ अवालेले भनेका थिए। तथापि, महासचिवले सिंगो मुलुक आक्रान्त भएका बेला अध्यक्ष अवालेले साधारणसभा बोलाएर ‘जग हसाइँ’ गरेको आरोप लगाएका छन्। ‘अहिले मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त छ। भाइरस निन्त्रणका लागि सरकारले निषेधाज्ञा पनि लगाउँदै आएको छ। यस्तो विकराल अवस्थामा पनि संघले साधारणसभा बोलाएर जग हसाइँको काम ग¥यो’, महासचिव भट्टाचार्यले विज्ञप्तिमा भने, ‘साधारणसभाको मिति पनि संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयबाट तोकिएको थिएन ।’

महासचिव भट्टाचार्यले साधारणसभा रोक्न निर्देशन दिएर राखेपले स्वागतोग्य काम गरेको पनि बताएका छन्। उनले नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल २०७७ जेठ २१ नै समाप्त भइसकेको र चार वर्षको अवधिमा संघले एउटा पनि साधारणसभा गर्न नसकेको उल्लेख गरे। संघको विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान रहँदारहँदै पनि अध्यक्ष अवालेले साधारणसभा गर्न कुनै इच्छा नदेखाएको भन्दै चार वर्षे कार्यकाल सकिएपछि साधारणसभा बोलाउनुको औचित्य के हो ? भन्दै उनले प्रश्न गरेका छन्। उनले संघले अहिलेसम्म गरेका आर्थिक हिसाबकिताब र खर्च पनि अवैध र गैरकानुनी रहेको दाबी गरेका छन्। 

प्रकाशित: १३ जेष्ठ २०७८ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App