खेल

एकदिवसीय खेल: बंगलादेशलाई शृंखला

मुसफिकर रहिमको विस्फोटक ब्याटिङ मद्दतमा मंगलबार भ्रमणकारी टोली श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले १ सय ३ रनको सानदार जित निकालेको छ। वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले डकवर्थ लुइस पद्धतिबाट फराकिलो जित निकाल्न सफल भएको हो। 

२ सय ४७ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गर्ने क्रममा वर्षा भएपछि डकवर्थ लुइसका आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो। तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका धनुष्का गुणथिलकाले सर्वाधिक २४ रनको पारी खेले। पथुम निशान्काले २० तथा इसुरु उडानाले अविजित १८ रन बनाए भने कुशल मेन्डिस र अशेन बन्डाराले समान १५ रनको योगदान गरे।

यस्तै मध्यक्रमका श्रीलंकन ब्याट्सम्यान बंगलादेशका बलरसामु खुलेर खेल्न सकेनन्। श्रीलंकाको इनिङलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए। शकिब अल हसनको नाममा २ विकेट रह्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो। बंगलादेशका लागि मुस्फिकर रहिमले १ सय २५ रनको शतकीय पारी खेले । १ सय २७ बलको सामना गरेका रहिमले १० चौका प्रहार गरेका थिए । बंगलादेशका लागि विकेटकिपर ब्याट्सम्यान मुस्फिकरले करियरको आठौँ शतक बनाए।  

७४ रनमा ४ विकेट गुमाएको अवस्थामा रहिम र महमदुल्लाहले  पाँचौँ विकेटका लागि ८६ रनको साझेदारी गर्दै बंगलादेशको इनिङ उकासेका थिए। यस्तै महमदुल्लाहले ४१ रन जोड्दा लिट्टन दास २५ रन बनाएर पवेलियन फर्किएका थिए। कप्तान तमिम इकबाल १३ रनमा पवेलियनको बाटो फर्किंदा शकिब अल हसन तेस्रो बलको सामना गर्ने क्रममा एलबिडब्लुको धरापमा परे। बंगलादेशको १० विकेट निकाल्ने क्रममा श्रीलंकाका लागि लक्षण सन्दुकन र दुस्मन्था चामिराले ३/३ विकेट लिए । इसुरु उडानाको नाममा २ विकेट रह्यो।

‘लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएका छौं। यद्यपि हामीले उत्कृष्ट खेल खेल्न सकेका छैनौं,’ बंगलादेशका कप्तान तामिम इकबालले भने, ‘मध्यक्रममा हामीले अनपेक्षित विकेट गुमाउन पुग्यौं । त्यो अवस्थामा २ सय रन पुर्‍याउन मुस्किल थियो । रहिमले उत्कृष्ट इनिङ सम्हाले ।’ यस्तै पराजित श्रीलंकन टोलीका कप्तान कुशल परेराले टोलीबाट सोचेजस्तो प्रदर्शन नभएको स्वीकार गरे।  

‘दुवै खेल गुमाउँदा टोली निराश देखिएको छ । दुवै खेलमा मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न सकेनन्,’ श्रीलंकाका कप्तान परेराले भने,‘खेलाडीमा अनुभवको कमी देखियो। यो विषयलाई समाधान गर्न गम्भीर छलफल आवश्यक छ।’ पहिलो खेलमा ३३ रनको जित निकालेको बंगलादेशले ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको यो लगातार पाँचौँ हार हो। शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।  

प्रकाशित: १३ जेष्ठ २०७८ ०३:२७ बिहीबार

बंगलादेशलाई शृंखला