खेल

नेपाली राष्ट्रिय फुटबल: युवा खेलाडीकै भर

कतार विश्वकप २०२२ को छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि इराक प्रस्थान गरेको छ।

नेपालले शनिबार इराकको बसरामा मैत्रीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली इराकको निमन्त्रणामा मैत्रीपूर्ण खेलका इराक प्रस्थान गरेको हो। इराकबाटै नेपाल विश्वकप छनोट खेलका लागि कुवेत प्रस्थान गर्नेछ। 

नेपाल सुपर लिग एनएसएल सकिएसँगै नेपाली राष्टिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलका साथै विश्वकप छनोट चरणका लागि युवा खेलाडीलाई अवसर दिँदै २३ सदस्यीय टोलीको घोषणा  गरेका थिए।  

विश्वकप छनोट चरणअन्तर्गत नेपालले गत २०७६ को चैतमै दशरथ रंगशालामा होम म्याचअन्गर्गत अस्ट्रेलिया र चाइनिज ताइपेई र २०७७ जेठमा जोर्डनलाई आतिथ्यता प्रदान गर्ने तालिका थियो। कोभिड १९ महामारीकै कारण सो खेल स्थगन भएको थियो। गत वर्ष असोजमा पनि प्रतियोगिता दोस्रो पटक स्थगित भएको थियो। फिफाले पुनः चैतमा छनोट खेल खेलाउने जनाए पनि कोभिड १९ को दोस्रो लहर फैलिएसँगै फेरि खेल स्थगित  गरेको थियो।

फिफाले कोभिड १९ महामारीकै कारण नेपाल रहेको समूह ‘बी’ का सबै खेल सेन्ट्रल भेन्युको रूपमा कुवेतमा गराउने तालिका सार्वजनिक गरेको थियो जसअन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपेई, २४ गते जोर्डन र २८ गते अस्ट्रेलियाविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा ४ अवे र १ होम गरी कुल ५ खेल खेलेको नेपाल ३ अंकका साथ चौथो स्थानमा छ। नेपालले कुवेतसँग दुवै खेल गुमाएको थियो। 

नेपालले विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जापूर्ण हार बेहोर्दा दोस्रो खेलमा भने चाइनिज ताइपेइविरुद्ध २–० को जित निकालेको थियो। त्यसपछि तेस्रो खेलमा अस्ट्रेलियासँग ५–०, चौथोमा जोर्डनसँग ३–० र होम गेमअन्तर्गत भुटानमा कुवेतसँग १–० को हार बेहोरेको थियो। अलमुताइरीले आफ्नो विश्वकप छनोट लक्ष्य क्षीण भइसकेकाले साफ च्याम्पियनसिपलाई लक्षित गर्दै युवा बाहुल्य रहेको टोलीको घोषणा गरिएको बताएका थिए।

यसअघि नेपालले विश्वकप छनोट चरणको तयारीकै लागि गत नोभेम्बरमा बंगलादेश भ्रमण गर्दै दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस्तै चैतमा नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टोली सम्मेलित थ्री नेसन्स कपको आयोजना गरेको थियो, जहाँ नेपाल १८ महिनाको गोल खडेरी तोड्दै उपाधि जित्न सफल भएको थियो। थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अलमुताइरीका लागि इराकविरुद्धको मैत्रपूर्ण खेल पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।  

यस पटक गोलकिपर विशाल सुनारका साथै मिडफिल्डर कमल थापा, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान र मनीष डाँगीले स्थान बनाएका थिए। यता राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका गोेलकिपर विकेश कुथु, मिडफिल्डर सुजल श्रेष्ठ, रवि पासवान र रक्षक रञ्जित धिमाल भने यस पटक टोलीमा स्थान बनाउन असफल रहे।

प्रकाशित: १२ जेष्ठ २०७८ ०२:२८ बुधबार

युवा खेलाडीकै भर