खेल

‘कीर्तिमान काल्पनिक चलचित्रजस्तो’

बुन्डेसलिगमा एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान ४९ वर्षपछि तोडेसँगै बायर्न म्युनिखका स्ट्राइकर रोबेर्टो लेवान्डोवस्कीले यो क्षणलाई काल्पनिक चलचित्रको संज्ञा दिएका छन्।

बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्नले औसबर्गमाथि ५–२ को जित हात पारेको थियो। लेवान्डोवस्कीले खेलको ९०औं मिनेटमा टोलीका लागि पाँचौँ गोल गरे। जुन सिजनको ४१औँ गोल थियो। यससँगै लेवान्डोवस्कीले एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। लेवान्डोवस्कीले गत साता मुलरको एकै सिजनमा ४० गोलको कीर्तिमानसँग बराबरी गरेका थिए। मुलरले सन् १९७१–७२ सिजनमा एकै सिजन सर्वाधिक गोलको कीर्तिमान रचेका थिए।

‘म कीर्तिमान तोड्ने लक्ष्यमा थिएँ, जुन खेल सकिएको सिटी बज्नु केही सेकेन्डअघि मात्र पूरा भयो,’ लेवान्डोवस्कीले भने, ‘त्यसैले यो क्षण काल्पनिक चलिचत्रभन्दा कम छैन। मसँग यो क्षणको वर्णन गर्ने शब्द नै छैन। मैले लोरी सानेले गोलको प्रयास गरेको हेरिरहेको थिएँ। भाग्यवश उनको प्रहार रिबाउन्डमा मलाई प्राप्त भयो,जसलाई मैले जाली चुमाउन सफल भएँ। म भाग्यमानी ठहरिएँ।’

बायर्नले लगातार नवौँ पटक बुन्डेसलिगाको उपाधि जितेको हो। खेल अवधिभर उनले ६ पटक गोलको प्रयास गरे पनि सबै विफल भएका थिए। शीर्ष स्थानको बायर्नले १३ अंकको अग्रता बनाएको थियो।  

‘खेलको सुरुआतमै गोल गर्न नसक्दा केही निराश थिएँ,’ उनले भने, ‘तर कीर्तिमानका लागि मिहिनेत गर्नुपर्छ भन्दै मैले धैर्य गरें। मलाई आत्मविश्वास थियो। म मेरो टोलीलाई धन्यवाद दिन चाहन्छु। म मेरो कीर्तिमानको खुसीयाली उनीहरूसँग बाँड्न चाहन्छु। यो विशेष क्षण हो। मेरो खेल जीवनको ऐतिहासिक क्षण हो।’

यो खेल बायर्न प्रशिक्षक हान्स फ्लिकका लागि पनि अन्तिम हो। अर्को सिजनबाट लिपजिगका पूर्वप्रशिक्षक युलियन नागेल्सम्यानले बायर्नको प्रशिक्षण सम्हाल्नेछन्। हान्सको प्रशिक्षणमा बायर्नले १८ महिनामा ७ उपाधि जितेको थियो ।

प्रकाशित: १० जेष्ठ २०७८ ०३:०२ सोमबार

‘कीर्तिमान काल्पनिक चलचित्रजस्तो’