खेल

ओलम्पिक स्थगित गर्न सुझाव

कोरोना भाइरसका कारण एक वर्षपछि २०२१ जुलाई महिनाका लागि धकेलिएको गृष्मकालीन ओलम्पिक स्थगित गर्न जापानका डाक्टरहरूले सुझाव दिएका छन्।  

ओलम्पिक आयोजकले खुलाएको आवेदनमा स्वास्थ्य क्षेत्रका अधिकारीहरूले निशुल्क सेवा प्रदानका लागि हजारौंको आवेदन परिरहेको अवस्थामा जापानका डाक्टरहरूले कोरोनालाई कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न सुझाव दिएका हुन्। धकेलिएको ओलम्पिक सुरु हुन १० साता मात्र बाँकी छ। कोरोना भाइरसका कारण जापानका जनताले तत्काल प्रतियोगिता आयोजना नगर्न विभिन्न माध्यमबाट सरकारलाई सुझाव दिइरहेका छन्। तर जापान सरकार भने तयारी अन्तिम चरणमा पुगिसकेको भन्दै प्रतियोगिता गर्ने पक्षमा छ।

प्रतियोगिता तय भएको मितिमा हुन नसके प्रतियोगिता स्थगित हुने सम्भावना छ। जसको प्रत्यक्ष असर तयारी गरिरहेका हजारौं खेलाडीमा हुनेछ। खेलाडीको तयारी व्यर्थ हुनेछ। यता ओलम्पिक आयोजक पदाधिकारीले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पूरा गर्दै कडा निगरानीमा आयोजना गर्न तयार रहेको बताइरहेका छन्। अपनाउनुपर्ने सबैखाले सावधानी अपनाउँदै स्वदेशी र विदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गर्ने जनाइएको छ। त्यसका लागि अहिले आयोजकले विभिन्न परीक्षण गर्दै व्यवस्थापन पक्षमा विशेष ध्यान दिने बताएको छ।  

ओलम्पिकमा करिब ६ हजार डाक्टरको संलग्नता हुने बताइएको छ। आयोजकले चौथो चरणको लहरलाई समेत मध्यनजर गर्दै तयारी थालेको बताएको छ। तर डाक्टरहरूले भने त्यसको खण्डन गरेका छन्। ‘प्रतियोगिता हुने मितिसम्म संक्रमण दर उच्च गतिमा बढ्ने अनुमान छ। संक्रमण फैलिई कसैको मृत्यु भएमा आलोचित हुनुपर्छ,’ सोमबार डाक्टरहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै उनीहरूले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग पनि सरसल्लाह गर्न सुझाव दिएका छन्।

डाक्टरहरूको युनियनले गत साता सुरक्षित तरिकाले धकेलिएको प्रतियोगिता सम्पन्न गर्न असम्भव रहेको भन्दै सुझाव दिएको थियो। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण दर अन्य देशमा भन्दा जापानमा न्यून छ। अहिलेसम्म ११ हजार ५ सयको मृत्यु भएको छ। तर जापानमा सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन दिइसकेको छ। २०२० का लागि तय भएको गृष्मकालीन ओलम्पिक कोरोनाकै कारण एक वर्ष पछि धकेलिएको थियो। जुलाई २३ तारिखमा प्रतियोगिता उद्घाटन गर्ने तालिका छ।

टोकियो ओलम्पिक आयोजकले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न भन्दै खुलाएको आवेदन मंगलबार आवश्यकभन्दा दोब्बरले परेको छ। आयोजकले ५ सय नर्स र प्रत्येक खेलस्थलमा स्वास्थ्य विशेषज्ञका लागि आवेदन खुलाएको थियो। जापानको एक सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा ८० प्रतिशतभन्दा धेरै जापानीले प्रतियोगिता स्थगित गर्न वा सार्न माग गरेका थिए।

प्रकाशित: ५ जेष्ठ २०७८ ०४:१९ बुधबार

ओलम्पिक स्थगित गर्न सुझाव