खेल

नेपाल सुपर लिग: काठमाडौं रेजर्सको सनसनीपूर्ण जित

मिडफिल्डर मेसौके ओलोमोउको ह्याट्रिकप्रेरित काठमाडौं रेजर्सले विराटनगर सिटी एफसीमाथि सनसनीपूर्ण जितका साथ नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमनसहित विराटनगरलाई ५–४ ले हराएको हो। खेलको छैटौं मिनेटमा एडेलेजा सोमिडेको गोलबाट विराटनगरले अग्रता लिएको थियो। 

सोमिडेले कप्तान रञ्जित धिमालको पासलाई सदुपयोग गरेका थिए। ३२औं मिनेटमा पेड्रे मान्जीले काठमाडाैंका गोलकिपर तथा कप्तान विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्दै विराटनगरको अग्रता २–० मा पुर्‍याए। जुन गोल अफसाइड भएको भन्दै काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनसहित क्लब पदाधिकारीहरू रेफ्रीसँग विवादमा समेत उत्रिए।  त्यसपछिको ९ मिनेटमा खेलले निकै नाटकीय मोड लियो, जहाँ लगातार ३ गोल फर्काउँदै काठमाडौंले खेल आफ्नो पक्षमा पार्ने संकेत गर्‍यो। 

मेसौकेले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट गोल गर्दै काठमाडौंलाई खेलमा फर्काए। ३५औं मिनेटमा काठमाडौंका लागि पहिलो गोल गरेका मेसौकेले त्यसको एक मिनेट पछि नै अर्को गोल थपे। २–० ले पछि परेको अवस्थाबाट २–२ को बराबरीमा ल्याएको काठमाडौं त्यसपछि थप आक्रामक बन्यो। ४१औं मिनेटमा स्टेफिन बिनोङले फ्रिकिकलाई पोस्टको दिशा दिएसँगै काठमाडौंले ३–२ को अग्रता लिएको थियो। 

६८औं मिनेटमा मेसौकेले ह्याट्रिक पूरा गर्दै काठमाडौंको अग्रता थप फराकिलो बनाए, जहाँ जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पनि बन्यो। ७९औं मिनेटमा विराटनगरका रञ्जितले गोल गर्दै अग्रता ४–३ ले छोट्याए। त्यसको तीन मिनेटपछि नै छिरिङ गुरुङले काठमाडौंका लागि पाँचौं गोल गरे। इन्जुरी समयको चौथो मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल पूरा गरे पनि विराटनगरलाई खेलमा फर्काउन पर्याप्त बनेन। यस जितपछि पाँच खेलको समाप्तीमा १० अंक जोडेको काठमाडाैंले दोस्रो स्थानमा उक्लिदै प्लेअफमा स्थान पक्का गर्‍यो। यसअघि बुधबार धनगढीले प्लेअफमा स्थान पक्का गरिसकेको छ। धनगढी समान १० अंकका साथ शीर्ष स्थानमा छ। विराटनगर ७ अंकका साथ तेस्रो र ललितपुर सिटी एफसी ६ अंकका साथ चौथो स्थानमा छन्।  

समान ५ अंक जोडेका बुटवल लुम्बिनी एफसी र पोखरा क्रमशः पाँचौं र छैटौं स्थानमा छन्। ४ खेलबाट २ अंक जोडेको एफसी चितवन पुछारमा छ। धनगढी र काठमाडौं प्लेअफमा प्रवेश गरिसकेका छन् भने बाँकी दुई स्थानका लागि अन्य पाँच टोलीकै सम्भावना जीवितै छ। ‘२–० ले पछि परे पनि खेलाडीको स्वाभाविक प्रदर्शनमा कुनै असर देखिएन। उनीहरू थप आक्रामक देखिए,’काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘उत्कृष्ट पुनरागमनमा ३–२ को अग्रता पछि भने टोलीको मनोबल बढ्यो। दोस्रो हाफमा पनि टोलीले आक्रामक खेल्यो र प्लेअफमा स्थान बनाउन सफल भएका छौं। अबको लक्ष्य अन्तिम खेलमा पनि सुखद नतिजाका साथ शीर्ष स्थानमा बस्ने हो।’  

यता विराटनगरका प्रशिक्षक यान लले भने गोलकिपर र रक्षकबीचको तालमेल अभावमा खेलको नतिजा सुम्पिनु परेको बताए। ‘गोलकिपरले दुई पटक गल्ती गर्दा काठमाडौंले खेलमा फर्कने अवसर पायो। उनीहरूको तुलनामा हाम्रो खेल निकै उत्कृष्ट थियो,’यानले भने, ‘दोस्रो हाफमा पनि रक्षकले गम्भीर गल्ती गरे। पहिलो हाफमै विक्रम धिमाल, नीरकुमार राई र सरोज दाहाल गरी तीन रक्षक चोटका कारण बाहिरिए। त्यसको असर हाम्रो नतिजामा पनि देखियो।’ यानले ललितपुरविरुद्ध हुने अन्तिम खेल आफ्नो टोलीका लागि फाइनलसरह भएको बताए।

ललितपुरको पहिलो जित

बिहीबारको पहिलो खेलमा ललितपुरले बुटवलमाथि १–० को जितका साथ प्लेअफ सम्भावना जीवित राखेको छ। खेलको पाँचौं मिनेटमा नुर्लान जाहिदको गोल नै ललितपुरलाई प्रतियोगितामा पहिलो तीन अंक दिलाउन पर्याप्त बन्यो। पहिलो खेलमा काठमाडौं रेजर्सलाई १–० को नतिजा सुम्पिएको ललितपुरले त्यसपछि लगातार तीन खेल बराबरी खेलेको थियो। ‘हामी आज बुटवलविरुद्ध जित्नै पर्ने दबाबमा थियाैं,’ललितपुरका प्रशिक्षक राजु तामाङले भने, ‘अब शीर्ष चारमा बस्दै प्लेअफमा स्थान बनाउने लक्ष्य छ। आशा छ, हामी विराटनगरविरुद्ध जित निकाल्दै प्लेअफमा प्रवेश गर्नेछौं। आजको जितले खेलाडीको मनोबल बढेको छ।’

यता पहिलो खेलमा पोखरमामाथि २–० को जित हात पारेको बुटवल दोस्रो खेलमा एफसी चितवन र तेस्रो खेलमा विराटनगरसँग २–२ को बराबरीमा रोकिएको थियो। चौथो खेलमा काठमाडौंलाई १–० को नतिजा सुम्पिएको बुटवल पाँचाैं खेलमा पनि निराश भएपछि भने प्लेअफ सम्भावना कमजोर बनेको छ। ‘हामीले प्रतियोगितामा सुखद सुरुआत गरे पनि पछिल्ला दुई खेलमा पराजित भएसँगै प्लेअफ सम्भावना कठिन बनेको छ,’बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले भने, ‘धनगढीविरुद्ध हुने अन्तिम खेल हाम्रा लागि गर या मरको हुनेछ।’

प्रकाशित: २४ वैशाख २०७८ ०४:०३ शुक्रबार

नेपाल सुपर लिग