खेल

त्रिकोणात्मक शृंखला: ठूलो सफलताबाट चुक्यो मलेसिया

दुई पटकसम्म वर्षाले प्रभावित खेलमा मलेसिया आफ्नो क्रिकेट इतिहासकै ठूलो सफलताबाट चुक्दा जारी त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्डसँग बराबरीको नतिजा सामना गर्न बाध्य भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दोस्रो पटक वर्षाले प्रभावित गर्दा मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पायो। उक्त लक्ष्य पछ्याएको मलेसिया ९१ रनमा सीमित भएपछि डच टोलीसँग नतिजा बाँड्दै ठूलो सफलताबाट चुकेको हो। स्कोर बराबर भए पनि अतिरिक्त ३० मिनेटको समय समाप्त भएकाले खेलमा सुपर ओभर हुन सकेन। साथै यो नतिजाले लिगको शीर्ष दुईमा रहँदै नेपाल र नेदरल्यान्ड फाइनलमा पुगे। अन्तिम ६ बलमा ७ रन बनाउन नसक्दा ट्वान्टी–२० मा ३१औं वरीयताको मलेसियाले जारी शृंखलामा पहिलो जितका साथै १७औं वरीयताको डचविरुद्ध सफलता निकाल्ने अवसर गुमायो।  

यद्यपि, मलेसियासँग लिगको अन्तिम खेलमा नेपालविरुद्ध जित निकाल्ने अवसर भने छ। अन्तिम ओभरमा डच बलर भिभियन किङ्माले दुई वाइड दिँदै विपक्षीलाई सहज बनाए पनि मलेसियन ब्याट्सम्यान जित आत्मसात् गर्न असफल भए। पाँचौं बलमा अमिनुद्दिनलाई ९ रनमा एलबिडब्लु आउट गरेका किङ्माले सो ओभरमा ५ रन मात्र खर्चिंदै डच टोलीलाई हारबाट निकाले। ओपनरद्वय सइद अजिज र अनवर अरूद्दिनको आक्रामक ब्याटिङमा मलेसियाले ६.३ ओभरमा बिनाविकेट ५८ रन जोड्दै राम्रो सुरुआत गरेको थियो। तर, सेबास्टियन ब्राटले त्यो साझेदारी तोड्दै डच टोलीलाई खेलमा फर्काए ।

उनले सातौं ओभरको तेस्रो बलमा अनवरलाई २३ रनमा आउट गर्दै मलेसियाको लयमा अंकुश लगाए। लगत्तै आठौं ओभरमा अजिज पनि ३० रनमा आउट भए। सोही ओभरमा वीरनदीप सिंहले बास डी लिडेलाई तीन चौका प्रहार गर्दै १५ रन बटुलेपछि मलेसियालाई अन्तिम १२ बलमा १७ रन आवश्यक थियो। नवौं ओभरमा मलेसियाले एक विकेट गुमाए पनि १० रन जोड्दा जितनजिक देखिएको थियो। तर, अन्तिम ओभरमा सफलता पाउन सकेन। त्यसअघि टस हारेर ब्याटिङ रोजेको नेदरल्यान्डले वर्षाका कारण १३ ओभरमा छोट्याइँदा चार विकेटको क्षतिमा १ सय ७ रनको योगफल बनायो।  

पहिलो पटक मलेसियाले डिएल मेथडको आधारमा १३ ओभरमा १ सय २० रनको लक्ष्य पायो। फेरि वर्षा हुँदा मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य प्राप्त ग¥यो। १०.२ ओभरमा पहिलो पटक वर्षा भयो, जति बेला नेदरल्यान्ड ८३–३ को अवस्थामा थियो। त्यसपछि वर्षाले लामो समय प्रभावित गरेपछि इनिङलाई १३ ओभरमा छोट्याइएको थियो। अघिल्लो दिन नेपालविरुद्ध आक्रामक सुरुआत गरेकोे नेदरल्यान्डले मलेसियासँग भने खराब सुरुआत गर्‍यो। डच टोलीले पावर प्लेमा ३५ रन बटुल्दा तीन विकेट गुमाउन पुग्यो। मलेसियाका बलर पवनदीप सिंहले पहिलो ओभरमै ओपनर टोबेस भिसलाई शून्यमै पवेलियन फर्काए।  

चौथो ओभरमै थप दुई विकेट गुम्दा नेदरल्यान्डलाई ठूलो झड्का लाग्यो। अर्का ओपनर विक्रमजित सिंह १ रनमा र बास डी लिडे शून्यमै आउट हुँदा नेदरल्यान्ड २२–३ को नाजुक अवस्थामा पुग्यो। मोहम्मद वाफिकले विक्रमजितलाई एलबिडब्लुको सिकार बनाउँदा नेपालविरुद्ध नायक बनेका लिडेलाई वीरनदीपबाट क्याच गराए। नेपालसँग लिडेले अविजित ८१ रनको आक्रामक इनिङ खेलेका थिए। तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बेन कुपरले लगातार दोस्रो खेलमा अर्धशतक बनाए। कुपर ३२ बलमा सात चौका र दुई छक्कासहित ५४ रनमा र एन्टोनियस स्टाल १० रनमा नटआउट रहे। त्यसअघि कुपरले चौथो विकेटका लागि कप्तान पिटर सिलारसँग ६० रनको साझेदारी गरेका थिए। १२औं ओभरमा आउट भएका पिटरले ३१ बलमा पाँच चौकासहित ३७ रनको योगदान दिए। एक छेउबाट इनिङ समालेका कुपरले पाँचौ विकेटका लागि स्टालसँग ८ बलमा १९ रन जोडे। कुपरले १३औं ओभरमा सर्भिन मुनियन्डीलाई दुई चौका र स्टालले एक छक्का प्रहार गर्दा नेदरल्यान्डले १८ रन बटुल्यो ।

 

 

प्रकाशित: ९ वैशाख २०७८ ०५:२१ बिहीबार

ठूलो सफलताबाट चुक्यो मलेसिया