खेल

राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

यो वर्षको विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्योलमा परेको छ । स्कुले बालबालिकामा पनि कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा परेको हो ।

कोरोना संक्रमण दर बढेसँगै जोखिम पनि उच्च भएपछि विद्यालय बन्द गर्ने निर्णयले रनिङ शिल्ड प्रतियोगिता प्रभावित हुने निश्चितप्राय भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद शाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए ।

जिल्लामा कतै राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिसकिएको छ भने कतै आयोजनाको मिति तय गरिएको छ । यो अवस्था हुँदा पनि प्रतियोगिता भने  अन्यौलमै रहेको सरोकारवाला बताउँछन् ।  

बैशाख २९ देखि केन्द्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिने मिति तय गरिएको थियो । त्यसै अनुरुप प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड टुंग्याउनुपर्ने निर्देशन थियो ।

खेलकुद मन्त्रालयले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि सबै स्थानीय निकायलाई पत्रचार गर्न निर्देशानुसार अनुरोध गरिसकेको छ । मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को दफा ३ अनुसार स्थानीय तहलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्देशन छ । त्यसपछि जिल्ला हँुदै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन निर्देशन गरेको हो । खेलकुद मन्त्रालयले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई गत फागुन १३ गते नै पत्र पठाइ सकेको छ । गतवर्षदेखि प्रत्येक स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको छ ।

‘प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड रोक्न सामाजिक विकास मन्त्रालयले निर्देशन गरेको छैन् ।’ सामाजिक विकास मन्त्रालयका खेलकुद शाखा प्रमुख काफ्लेले भने, ‘प्रदेशस्तरीय प्रतियोगिताको लागि सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बैठक बसेपछि आयोजना गर्ने/नगर्ने विषयमा निर्णय हुनेछ ।’ स्कुले बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि बजार क्षेत्रका बालबालिका पनि बढी प्रभावित भएका छन् । यसले प्रतियोगिता गर्ने विषय थप अन्यौल भएको उनले बताए ।  

जिल्ला खेलकुद विकास समिति कास्कीले गण्डकी प्रदेशमा यही बैशाख ९ र १० गते जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टुंग्याउने योजना बनाएको छ । कास्कीको मादी र रुपा गाँउपालिकामा रनिङ शिल्ड आयोजना सम्पन्न भइसकेको छ । ‘हामी बैशाख ९ र १० गते आयोजना गर्ने तयारीमा थियौं ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘थप दुई गाउँपालिका र महानगरपालिकास्तरीय प्रतियोगिता आयोजना गर्नै बाँकी छ ।’ संक्रमण बढ्दै गएपछि विद्यालयको पठनपाठन नै अनलाइन गर्न/गराउन निर्देशन भएको विषम परिस्थितिमा रनिङ शिल्ड आयोजना गर्ने सम्भावना भने कम देखिएको छ ।

प्रकाशित: ७ वैशाख २०७८ ११:१८ मंगलबार

राष्ट्रपति रनिङ शिल्ड कोरोना संक्रमण