खेल

इन्डियन प्रिमियर लिग: बैङ्लोरलाई लगातार तेस्रो सफलता

रोयल च्यालेन्जर्स बैङ्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितको यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिएको छ। आइतबार भएको खेलमा बैङ्लोरले कोलकाता नाइट राइडर्समाथि ३८ रनको जित हात पारेको हो। प्रतियोगितामा बैङ्लोरको यो लगातार तेस्रो जित हो र टोली ३ अंकका साथ शीर्ष स्थानमा छ।  

बैङ्लोरले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन मात्र जोड्न सक्यो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ३० रन जोड्दा इयोन मोर्गानले २९, साकिब अल हसनले २६, राहुल त्रिपाठीले २५ र शुभमन गिलले २१ को योगदान गरे।

बैङ्लोरका जेमिसनले ३ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए। यसअघि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा टस जितेर ब्याटिङ रोजेको रोयल च्यालेन्जर्स बैङ्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रनको योगफल तयार पारेको थियो।

६ रन जोड्दा बैङ्लोरले कप्तान विराट कोहोलीलाई पहिलो विकेटका रूपमा गुमाएको थियो। थप ३ रन जोड्दा बैङ्लोरले रजत पटिडारलाई दोस्रो विकेटका रूपमा गुमायो। तेस्रो विकेटका लागि देवदत्त पडिक्कल र म्याक्सवेलले ८६ रनको साझेदारीका साथ बैङ्लोरको इनिङ उकासेका थिए।

१४८–४ को अवस्थामा रहेको बैङ्लोरको इनिङ भिलियर्सले पाँचांै विकेटका लागि काइल जेमिसनसँग अविजित ५६ रनको साझेदारी गरे। म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए भने भिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए।

प्रकाशित: ६ वैशाख २०७८ ०५:०६ सोमबार

बैङ्लोरलाई लगातार तेस्रो सफलता