खेल

सोमपाल लामो समयपछि टोलीमा

आगामी शनिबारदेखि हुने त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपालले घरेलु भूमिमा नेदरल्यान्ड र मलेसियासँग शनिबारदेखि त्रिकोणात्मक शृंखला खेल्दै छ। सोही शृंखलाका लागि बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो। 

डेभ ह्वाटमोरको प्रशिक्षणमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, आसिफ शेख, करन केसी, सोमपाल कामी, कुशल मल्ल, सन्दीप लामिछाने, सुशन भारी, साहब आलम, कमल सिंह ऐरी र अविनाश बोहरा छन्।

सोमपाल र आसिफले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा साहब आलमले पहिलो पटक स्थान बनाएका छन्। ढाडको समस्याका कारण सोमपाल सन् २०१९ डिसेम्बरदेखि राष्ट्रिय टोलीमा छैनन्। उनले घरेलु भूमिमा सम्पन्न १३औं साग, आइसिसी विश्वकप लिग–२ र थाइल्यान्डको क्वालिफायर खेल्न पाएनन्। आसिफ भने सन् २०१७ पछि नेपाली टोलीमा स्थान बनाउन सफल भए। ट्वान्टी–२० क्रिकेटको त्रिकोणात्मक शृंखला खेल्नका लागि मलेसिया र नेदरल्यान्डको टोली मंगलबार नै नेपाल आइसकेको छ।

मलेसियाबाट १४ खेलाडीसहित २० सदस्यीय र नेदरल्यान्डबाट भने १४ खेलाडीसहित १९ जनाको टोली नेपाल आएका छन्। यी दुवै टोलीको मंगलबार नै कोरोना परीक्षण भएको छ। नेपालले शनिबार त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा नेदरल्यान्डसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ। वैशाख ४ देखि ९ गतेसम्म प्रत्येक दिन १/१ खेल सञ्चालन हुनेछन् भने शीर्ष दुई टोलीले वैशाख ११ गते फाइनल खेल खेल्नेछन्।

 क्यानले पहिलो त्रिकोणात्मक शृंखलामा टिकट मूल्य १ सय ५० रूपैयाँ तोकेको छ। सबै खेल दिउँसो १२ः१५ र १ः१५ देखि सुरु हुनेछन्। डबल राउन्ड रोबिन फरम्याटमा आयोजना हुने शृंखलमा सहभागी तीन राष्ट्रले एक अर्कासँग २÷२ खेल खेलेपछि अंकतालिकामा शीर्ष दुई टोलीबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। शृंखलाअन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरी कुल ७ वटा खेल हुनेछन्।  

नेपाल क्रिकेट संघ (क्यान) का सदस्य एवम् प्रतियोगिता संयोजक प्रशान्तविक्रम मल्लले त्रिकोणात्मक शृंखलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। यो शृंखलापछि नै नेपालले नामिबिया र तान्जिनियासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाको पनि तयारी गरिरहेको छ। अफ्रिकन टोलीसँगको शृंखला जेठ १ देखि हुने भनिएको छ। नेपालले एकदिवसीय मान्यता प्राप्त नामिबियासँग एकदिवसीय खेलका लागि पनि प्रयास गरिरहेको छ।

प्रकाशित: २ वैशाख २०७८ ०३:४५ बिहीबार

सोमपाल लामो समयपछि टोलीमा