खेल

मलेसिया र नेदरल्यान्डको टोली काठमाडौंमा

वैशाखको पहिलो सातादेखि हुने त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि नेदरल्यान्ड र मलेसियाको टोली मंगलबार नेपाल आइपुगेको छ। ट्वान्टी–२० क्रिकेटको त्रिकोणात्मक शृंखला खेल्नका लागि मलेसियाको टोली दिउँसो साढे १२ बजे र नेदरल्यान्डको टोली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। 

मलेसियाको १४ खेलाडीसहित २० सदस्यीय टोली नेपाल आएको छ। नेदरल्यान्डको भने १४ सदस्यीय खेलाडीसहित १९ जनाको टोली नेपाल आएको छ। यी दुवै टोलीको मंगलबार कोरोना परीक्षण भएको छ। नेपालले आगामी वैशाख ४ गते नेदरल्यान्डसँग खेल्दै शृंखलाको उद्घाटन हुनेछ। वैशाख ४ देखि ९ गतेसम्म प्रत्येक दिन १/१ खेल सञ्चालन हुनेछन् भने शीर्ष दुई टोलीले वैशाख ११ फाइनल खेल खेल्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) का सदस्य एवम् प्रतियोगिता संयोजक प्रशान्तविक्रम मल्लले त्रिकोणात्मक शृंखलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। ‘यो महामारीका समयमा नेपाली क्रिकेटलाई चलायमान बनाउनुका साथै अन्तर्राष्ट्रिय एक्सपोजरका दिनका लागि यो शृंखला आयोजना गरेका हौं। जुन शृंखलाका लागि सम्पूर्ण तयारी पनि पूरा भएको छ,’ मल्लले भने, ‘साथै नामिबिया र तान्जिनियासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि पनि तयारी गरिरहेका छौं।’

अफ्रिकन टोलीसँगको शृंखला जेठ १ देखि हुने भनिएको छ। नेपालले एकदिवसीय मान्यता प्राप्त नामिबियासँग एकदिवसीय खेलका लागि पनि प्रयास गरिरहेको छ। क्यानले पहिलो त्रिकोणात्मक शृंखलामा टिकट मूल्य १ सय ५० रूपैयाँ तोकेको छ। सबै खेल दिउँसो १२ः१५ र १ः१५ देखि सुरु हुनेछन्। २० सदस्यीय बन्द प्रशिक्षणबाट १५ सदस्यीय नेपाली राष्ट्रिय टोली बुधबार घोषणा हुँदैछ।

प्रकाशित: १ वैशाख २०७८ ०५:५० बुधबार

मलेसिया र नेदरल्यान्ड टोली काठमाडौंमा