खेल

चर्च ब्वाइज ‘सी’ डिभिजन च्याम्पियन

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिजिन लिगको च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा बढुवा हुँदा दोस्रो भएको वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब पनि ‘बी’ डिभिजनमा उक्लिएका छन्।  

ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिसँगै ‘बी’ डिभिजनमा बढुवा भएको हो। चर्च ब्वाइज यसै सिजन ‘सी’ डिभिजनमा बढुवा भएको थियो। एक वर्ष नहुँदै चर्च ब्वाइजले फड्को मार्न सफल भएको हो।

 यस्तै वीरगन्ज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि ‘बी’ डिभिजनमा बढुवा भएका छन्। खालीबारी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै वीरगन्ज बढुवा भएको हो भने सामाजिकले अन्तिम खेलमा वीरगन्ज युथ एकेडेमीलाई १–० ले पराजित गर्दै २ वर्षपछि ‘बी’ डिभिजनमा उक्लिन सफल भएको हो।  

च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले नगद १० लाख रूपैयाँ हात पार्दा दोस्रो भएको वीरगन्जले ७ लाख रूपैयाँ र तेस्रो सामाजिक युवा क्लबले ४ लाख रूपैयाँ हात पारे। प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक ‘सी’ डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन्।

 यस्तै वीरगन्ज युनाइटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिँदा वीरगन्ज युनाइटेडका दिलमणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट हुनेले जनही २५÷२५ हजार रूपैयाँ प्राप्त गरे। लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्डसहित ५० हजार रूपैयाँ प्राप्त ग¥यो। सानो गौचरन युवा क्लब ‘सी’ डिभिजनबाट पनि घटुवा भएको छ।

प्रकाशित: ३१ चैत्र २०७७ ०४:४७ मंगलबार

चर्च ब्वाइज ‘सी’ डिभिजन च्याम्पियन