खेल

महिला क्रिकेट: प्रदेश–१ लाई १० विकेटको जित

ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीको अविजित शतकीय साझेदारीबाट प्रदेश–१ ले सोमबार ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित निकालेको छ।  

आफ्नो दोस्रो खेलमा प्रदेश–१ ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनीमाथि रबाफिलो जित निकाल्दै प्रतियोगितामा पहिलो अंक जोडेको हो। १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले निर्धारित २० ओभर सकिन ४० बलअगावै बिनाविकेट पूरा गरेपछि लुम्बिनीले लगातार दोस्रो खेलमा हार बेहोर्‍यो। प्रदेश–१ की कप्तान रुविना ६८ रनमा र काजल २५ रनमा अविजित रहँदै सहजै आफ्नो टोलीलाई जित दिलाए। रुविनाले ४९ बलमा १२ चौका र एक छक्का हिर्काइन्। ३२ बल खेलेकी काजलको इनिङमा भने तीन चौका थियो। मध्यम लक्ष्य रोक्न प्रयासरत लुम्बिनीका बलर प्रदेश–१ का ओपनरसँग निरीह भए।

लुम्बिनीकी कप्तान नेरी थापाले तीन ओभरमा एक मेडन राखे पनि २२ रन खर्चिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा दुई विकेट मात्र गुमाए पनि १ सय ४ रनको मध्यम योगफल बनाएको थियो। सरस्वती घर्तीमगरले नटआउट ५० रन बनाउँदै लुम्बिनीको इनिङ उकासिन्। उनले ६६ बलमा पाँच चौका प्रहार गरिन्। त्यस्तै कप्तान नेरी थापाले तीन चौकाको मद्दतमा नटआउट २० रनको योगदान गरिन्। लुम्बिनीले २।३ ओभरमा आफ्नो पहिलो विकेटका रूपमा वर्षा रानालाई शून्य रनमै गुमाएको थियो। प्रदेश–१ की सबनम राईको बलिङमा वर्षा बोल्ड हुन पुगेकी थिइन्। सुस्त गतिमा रन बटुलेको लुम्बिनीले १४.५ ओभरमा रनआउटको रूपमा दोस्रो विकेट गुमाएको थियो।  

प्रदेश–१ की विकेटकिपर काजल श्रेष्ठले नितु भण्डारीलाई १८ रनमा रनआउट गर्दै आफ्नो टोलीलाई दोस्रो सफलता दिलाएकी हुन्। नितुले ३३ बल खेले पनि बाउन्ड्री प्रहार गर्न सकिनन्। लुम्बिनीका खेलाडीले खुलेर ब्याटिङ गर्न गर्नै सकेनन्। सबनमबाहेक प्रदेश–१ का अन्य बलर विकेटविहीन रहे पनि किफायती साबित भए। चार ओभर बलिङ गरेकी सबनमले २३ रन मात्र खर्चिन्। प्रदेश–१ की कप्तान रुविना प्लेयर अफ दी म्याच घोषित भइन्। मंगलबार दुई खेल हुँदा पहिलो खेलमा ललितपुर मेयर–११ र एपिएफ तथा दोस्रो खेलमा प्रदेश–१ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २४ चैत्र २०७७ ०४:४७ मंगलबार

मेयर महिला क्रिकेट