खेल

अब्दुलालाई जिम्मेवारी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो। काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको हो।  

नेपालले थ्री नेसन्स कपमा उचालेको उपाधिले नेपाली समर्थकलाई धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थकलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले बताए।  

‘नेपालले आगामी दिनमा राम्रो फुटबल खेल्नेछ। पुरानो शैलीभन्दा आउँदा दिनमा आक्रामक खेलको खाँचो हुन्छ,’ नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले भने, ‘मसँग जादुयी उपाय केही पनि छैन। तर मैले कडा मिहिनेत गर्नेछुं। मसँग खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नुपर्नेछ। मिहिनेत गरे अवश्य नतिजा निकाल्न सकिन्छ।’

आइतबार नियुिक्त पाएका ४० वर्षीय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्ष सम्हाल्नेछन्। यस समयमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीले नेपाली फुटबलमा प्रवेश पाएका हुन्। नेपाली टोली सम्हाल्ने अल्मुटाइरी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन्। उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ र भने नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले हेर्नेछ।  

‘म नेपालीका लागि आएको हुँ र उनीहरूलाई खुसी दिन आएको हुँ। मेरा लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ,’ थ्री नेसन्स कपमा नेपाली टोलीको खेल नियालेका अल्मुटाइरीले थपे, ‘म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ तर खेलाडीको प्रदर्शन भने राम्रो हुनेमा विश्वस्त छु। खेलाडीमा त्यो सम्भावना देखेको छु।’ 

प्रकाशित: २३ चैत्र २०७७ ०३:३५ सोमबार

अखिल नेपाल फुटबल संघ जिम्मेवारी अब्दुलालाई