खेल

गजेन्द्र र पुष्पाले जिते हाफ म्याराथन

त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र एपिएफ क्लबकी पुष्पा भण्डारीले प्रथम किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गर्दा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ३७ सेकेन्ड समय खर्चिएर उपाधि जितेकी हुन्। गजेन्द्रसहित शीर्ष पाँच स्थानमा आर्मीकै खेलाडी रहे। १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोस्रोदेखि पाँचाैं स्थानमा दौड टुंग्याए। शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए।चौथो र पाँचाैंले समान ५ हजार नगद पुरस्कार हासिल गरे ।

बंगलादेशको ढाकामा भएको फुल म्याराथनमा स्वर्ण जित्दै महिलातर्फ इतिहास रचेकी पुष्पाले उपाधि उचाल्दा आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेन्डमा दोस्रो, एपिएफकी आशा रावत १ घण्टा ३६ मिनेट ४९ सेकेन्डमा तेस्रो र काठमाडौंकी रोशना रिजाल १ घण्टा ५१ मिनेट २६ सेकेन्डमा चौथो भए।महिलाले पनि पुरुषसरह नै नगद पुरस्कार जिते ।

विजेतालाई नेपाली कांग्रेसका नेता पूर्वमन्त्री पूर्णबहादुर खड्का, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार वितरण गरे। समापनका अवसरमा ओलम्पियनत्रय एथलेटिक्सका वैकुण्ठ मानन्धर, जितबहादुर केसी र पुष्पराज ओझा तथा बक्सिङका सुरेश आले मगरलाई सम्मान गरिएको थियो।

प्रकाशित: २२ चैत्र २०७७ ०४:३७ आइतबार

हाफ म्याराथन