खेल

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस अवार्डबारे जानकारी दिँदै आयोजक । तस्बिरः उमेश पुन÷नागरिक

पोखरा स्पोर्टस् अवार्ड–२०७७ को मनोनयन सोमबार सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले २०७८ वैशाख २० गते आयोजना गर्ने पाचौं संस्करणको पोखरा स्पोर्टस अवार्ड का विभिन्न ४ विधामा ३–३ जनाको नाम सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

मनोनयमा सर्वोत्कृष्ट खेलाडी पुरुषमा कराँतेका नवीन रसाइली, टेबल टेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल परेका छन् । त्यस्तै सर्वोत्कृष्ट महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ ।

त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्विमिङकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री मनोनयनमा परेका छन् । प्रशिक्षकमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा परेका छन् ।

पोखरा स्पोर्टस अवार्ड २०७६ कोरोना भाइरसका कारण हुन नसकेपछि अघिल्लो वर्षदेखिको खेलाडीको क्षमतालाई आधार मानेर मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मनोनित मध्ये सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले सँधै झैं यस वर्षपनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामध्ये एकजनालाई चाँदीको करुवासहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्डका लागि प्रतिभा छनौट गर्ने क्रममै रहेको उनले बताए ।  

त्यस्तै, मञ्चले वर्ष सर्वोत्कृष्ट खेल संघलाई पनि अवार्ड प्रदान गर्ने भएको छ । मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट यसवर्ष २ जनालाई अवार्ड प्रदान गर्ने भएको छ । वर्ष उत्कृष्ट खेल परिकारिता पुरस्कार २०७६ र ७७ गरि २ जनालाई यस वर्ष पत्रकारिता पुरस्कार वितरण गरिने अध्यक्ष गिरीले जानकारी दिए । पुरस्कृत पत्रकार नाम अवार्ड वितरण समारोहमा एकैपटक उद्घोषण गरिने उनले बताए ।

सर्वोत्कृष्ट पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्नेलाई जनहि २ लाख रुपैयाँ, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, प्रशिक्षक, खेल संघ तथा पत्रकारिता पुरस्कार विधामा अवार्ड प्राप्त गर्नेलाई नगद सहित सम्मान गरिने उनले बताए । 

प्रकाशित: १६ चैत्र २०७७ ०८:४३ सोमबार

पोखरा स्पोर्टस् अवार्ड