खेल

उपाधि जित्नेमा नेपाल विश्वस्त

दुई खेल, दुई अंकका साथै गोलविहीन फाइनल यात्रा। गत मंगलबारबाट सुरु त्रिदेशीय कपको फाइनल प्रवेशका क्रममा नेपालले निकालेको नजिताका तथ्यांक हुन् यी। पहिलो खेलमा बिहीबार किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले शनिबार बंगलादेशसँग सोही नतिजा दोहो¥याए पनि उपविजेताका रूपमा फाइनलमा स्थान बनाएको थियो।

यता पहिलो खेलमा किर्गिस्तानले आत्मघाती गोल उपहार दिँदा तीन अंक जोडेको बंगलादेशको फाइनल यात्रा भने नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेसँगै पक्का भएको थियो। सोमबार उपाधिका लागि भिड्दा नेपालको लक्ष्य गोल खडेरीमा पूर्णविराम लगाउने हुनेछ। दुवै खेलमा गोलको अवसर सिर्जना गर्दै विपक्षीलाई पूर्ण रूपमा दबाबमा राखेपनि नेपाली खेलाडीको प्रहारले भने जाली चुम्न सकेको छैन। नेपालले १८ महिना अघि विश्वकप छनोट २०२२ को अवे खेलमा चाइनिज ताइपेईविरुद्ध जित निकालेयता आठ खेलमा गोल गर्न सकेको छैन।

त्यसयता नेपालले विश्वकप छनोटअन्तर्गत अवे खेलमा अस्ट्रेलियासँग ५–०, जोर्डनसँग ३–० र होम म्याचअन्तर्गत कुवेतसँग १–० को नतिजा सुम्पिएको छ। त्यस्तै नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल पनि १–० ले गुमाएको थियो। नोभेम्बरमा बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरीको नतिजा निकालेको थियो। जारी प्रतियोगितामा नेपालले किर्गिस्तानको यु–२३ को टोली र बंगलादेशविरुद्ध पनि गोलको खडेरी तोड्न सकेन।  

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने सोमबार बंगलादेशविरुद्धको फाइनलमा गोल गर्दै उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए। ‘दुई खेलमा गोलका प्रशस्त अवसर पाए पनि सदुपयोग गर्न नसक्दा दुवैमा अंक बाँड्न बाध्य भयांै,’महर्जनले भने, ‘दुई खेलपछि टोलीको मनोबल बढेको छ। घरेलु समर्थकका माझ खेल्न पाउँदा खेलाडीमा उर्जा थपिएको छ। आशा छ, गोलको खडेरी तोड्दै उपाधि भित्राउँछौ। यो प्रतियोगिता विश्वकप छनोटको तयारी पनि हो र खेलाडीहरूले पनि टोलीमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्नेमा समेत विश्वस्त छु।’

महर्जनले यस अघिका दुवै खेलको पहिलो रोजाइ सोमबारको फाइनलमा भने केही हेरफेर हुन सक्ने बताएका छन्। नेपालका कप्तान किरणकुमार लिम्बुले पनि फाइनलमा टोलीले उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए। ‘हामी दशरथ रंगशालामा ६ वर्षपछि खेल्न पाउँदा निकै उत्साही छौं,’लिम्बुले भने, ‘हामी घरेलु समर्थकलाई जितको खुशी दिन चाहान्छौं। हाम्रा लागि समर्थकको उपस्थिति सधैं उर्जा बन्नेछ। नोभेम्बरमा बंगलादेशविरुद्ध खेल्दाको टोली र अहिलेको टोलीमा धेरै फरक छ, त्यसैले हामी उपाधि जित्नेमा आशावादी छौं।’

यता बंगलादेशका प्रशिक्षक जेम्स डेले भने त्रिदेशीय कपलाई विश्वकप छनोट अघि खेलाडीको क्षमता परीक्षणको राम्रो अवसरको रूपमा हेरेको बताए। ‘सबै टोलीको लक्ष्य फाइनल प्रवेश गरेपछि उपाधि जित्ने नै हुन्छ,’डेले भने, ‘हाम्रो लक्ष्य पनि उपाधि भित्राउनु नै हुनेछ। तर, उपाधि जित्न नसके पनि हामी निराश हुनेछैनांै। यो खेलाडीको क्षमता परीक्षण गर्ने अवसर भएकाले उपाधिभन्दा पनि हामी खेलाडीको प्रदर्शनमा केन्द्रित छौं।

किर्गिस्तानविरुद्ध पहिलो रोजाइमा उतारेको टोलीमा डेले शनिबार नेपालविरुद्ध ९ खेलाडी परिवर्तन गरेका थिए। सोमबार हुने फाइनलमा भने डेले दुवै खेलपछि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अवसर हुने बताए। 

प्रकाशित: १६ चैत्र २०७७ ०४:५८ सोमबार