खेल

मिल्स गोल्डकपः साइनो र एपिएफबीच फाइनल

विराटनगरमा जारी प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा साइनो स्पोर्ट्स क्बल विजयी हुँदै फाइनलमा पुगेको छ। मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगितामा विराटनगरको साइनोले सुनसरीको धरान सिटी फुटबल एकेडेमीलाई १–० गोलमा पराजित गर्दै फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार साइनोले सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ)सँग प्रतिस्पर्धा गर्नेछ।  

खेलको ५८ औं मिनेटमा धरानका खेलाडीको डिबक्सभित्र हेण्ड भएपछि साइनोले पेनाल्टी प्रहारको मौका पाएको थियो। साइनोका दोर्जे तामाङले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक सजिन श्रेष्ठले पन्च गरी क्लीय गर्न खोज्दा भएको रिबाण्ड बल पुनः तामाङले प्रहार गर्दै गोल गरे। साइनोका तीर्थ बस्नेतले ६५ मिनेटमा पाएको वान भर्सेस वानमा गोल गर्न चुक्दा गोल संख्या बढ्न सकेन। ७६ औं मिनेट धरानले हेण्डमार्फत पाएको पेनाल्टी चुकाउँदा हार व्यहोर्नु पर्‍यो। 

धरानका विनोद राईले गरेको प्रहारलाई गोलरक्षक प्रज्जवल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। म्यान अफ द म्याच साइनोका गोलरक्षक प्रज्जवल श्रेष्ठले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित: १३ चैत्र २०७७ ११:५१ शुक्रबार

मिल्स गोल्डकप