खेल

वरीयता सुधारको लक्ष्य

नेपाली खेलाडीको लगनशीलता र दृढ शक्तिका कारण नेपाललाई चाँडै आइसिसीको अंकतालिकामा अग्र स्थानमा देख्न सकिनेछ। खेलाडी प्रशिक्षणका क्रममा विराटनगर आएका नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त अनुमान गरेका हुन्।

‘आफ्नो मुख्य लक्ष्य भनेकै खेललाई सुधार गर्दै आइसिसीको वरीयताक्रमलाई सुदृढ बनाउने हो,’ प्रशिक्षक ह्वाटमोरले भने, ‘५० ओभरको एकदिवसीय खेलमा वरीयतालाई सुधार गर्दै अघि बढ्नेतर्फ ध्यान केन्द्रित गरेको छु।’ उनले राष्ट्रिय टोलीका खेलाडीको ऊर्जासँगै लक्ष्य पूरा गर्ने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताए।

‘आइसिसीको एकदिवसीय खेलको वरीयतामा १३÷१४ नम्बरमा रहन चाहन्छौं,’ मुख्य प्रशिक्षक ह्वाटमोरले भने, ‘हाम्रा खेलाडी निकै मिहिनेत र लगनका साथ अघि बढेका छन्। नेपाली खेलाडीमा राम्रो कला र प्रतिभा भएकै कारण म यहाँ आएको हुँ।’ कार्यक्रममा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नवीन घिमिरेले राष्ट्रिय टोलीका प्रशिक्षक ह्वाटमोरको टोलीले ७ वटै प्रदेशमा यसै प्रकारको खेलाडी प्रशिक्षण कार्यक्रम गर्ने बताए।

 यस क्रममा टोलीले जिल्लामा रहेका प्रशिक्षक, राष्ट्रिय तथा क्लबका करिब २ सय जना महिला तथा पुरुष खेलाडीलाई प्रशिक्षण दिनेछन्। आइसिसीको एकदिवसीय वरीयतामा नेपाल ९ खेलबाट १ सय ६१ अंकका साथ १७औं स्थानमा रहेको छ। २० वटा राष्ट्रको वरीयतामा नेपालपछि नामिबिया, अमेरिका र पपुवा न्युगिनी रहेका छन् भने इङ्ल्यान्ड र भारत पहिलो र दोस्रो स्थानमा छन्। ह्वाटमोरसँगै राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक जगत टमाटा, प्रदेश १ का प्रशिक्षक प्रदीपराज पाण्डे, मोरङका प्रशिक्षक महेश रिजाललगायतले प्रशिक्षण दिने कार्यक्रम छ।

प्रकाशित: १२ चैत्र २०७७ ०४:५२ बिहीबार

आइसिसीको अंकतालिकामा अग्र स्थान नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोर