खेल

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताः आयोजक केएफएको बिजयी सुरुवात

खोटाङको दिक्तेलमा सुरु जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ। ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ बुधबारदेखि सुरु गरिएको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उद्घाटन खेलमा योङ व्वाइज यूनाइटेड फुटबल क्लव दिक्तेललाई पछि पार्दै आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले विजयी सुरुवात गरेको हो। जर्सी नम्बर १८ का जोसन शैंजूले गरेको १ गोल नै आयोजक केएफएको जीतका लागि काफी भएको हो। प्रतियोगितामा योङ ब्वाइज यूनाइटेड फुटबल क्लवले कुनै पनि गोल गर्न सकेन। सो प्रतियोगिताको म्यान अफ द म्याचको उपाधि पनि शैंजूले पाएको आयोजकले जनाएको छ।  

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगिता अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका हुन्। प्रतियोगिता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिं, चर्चित फुटबलर हरि खड्का लगायतको उपस्थिति रहेको थियो। चन्दा उठाएर आयोजना गरिएको प्रतियोगितामा १३ टिमबिचमा प्रतिष्पर्धा हुने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए। बाँकी खेल बिहिबार बिहान साँढे ७ बजेदेखि सुचारु भएको आयोजकले जनाएको छ।  

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीले जनाएको छ। यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए।  

अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको छ। ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो।  

केएफएको आफ्नै गीत रिलिज  

खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत रिलिज गरिएको छ। एकेडेमीको अफिसियल गतिविधिकाक्रममा गाउन र बचाउने प्रयोजनका लागि तयार पारिएको गीत जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता उद्घाटनको अवशरमा सार्वजनिक गरिएको हो। ‘हाम्रो केएफए, सबैको केएफए’ बोलको साँढे तीन मिनेटको गीत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सार्वजनिक गरेका हुन्। केएफएकै अध्यक्ष नूरकाजी शैंजूको शव्द रहेको गीतमा गायक उल्सन श्रेष्ठको स्वर र संगीत रहेको छ। पुर्व भलिबल खेलाडी एबं जिल्ला खेलकुद विकास समितिका पुर्वउपाध्यक्ष गोपाल शैंजूको प्रोडक्सनमा केएफएको गीत तयार पारिएको हो। मार्च पास र डान्समा उपयोग गर्न मिल्ने गीतलाई क्रमशः लोक, आधुनिक लगायतका भर्सनमा निकाल्ने लक्ष राखिएको अध्यक्ष शैंजूले बताए।  

केएफए फुटसल तथा भवन शिलान्यास  

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता उद्घाटनकै अवशरमा केएफए फुटसल सेन्टर तथा केएफए भवन शिलान्यास गरिएको छ। दिक्तेलका विष्णुमायाँ खत्री, पोष्टकबहादुर खत्री र रामबहादुर खत्रीले निःशुल्क उपलव्ध गराएको जग्गामा केएफए फुटसल सेन्टर तथा केएफए भवन शिलान्यास गरिएको हो। अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष शेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले केएफए फुटसल सेन्टर तथा भवन शिलान्यास गरेका हुन्। फुटसल सेन्टरका लागि एन्फाकातर्फबाट दुई लाख र एन्फा अध्यक्ष शेर्पाले एक लाख प्रदान गर्ने घोषणा गरेका छन्। केएफए फुटसल सेन्टर तथा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई कार्यक्रममा सम्मान गरिएको छ।

प्रकाशित: ५ चैत्र २०७७ ०४:२९ बिहीबार

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता आयोजक केएफए