खेल

राष्ट्रपति रनिङशिल्ड आयोजना गर्न निर्देशनात्मक परिपत्र

युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन खेलाडी पठाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौंमा आगामी बैशाख २९ देखि ३१ गतेसम्म राष्ट्रपति रनिङशिल्ड आयोजना गरिने मिति तय गरिसकेको अवस्थामा स्थानीय तहमा आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता टुग्याएर प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी पठाउन परिपत्र गरेको हो ।  

खेलकुद मन्त्रालयले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि सबै स्थानीय निकायलाई पत्रचार गर्न निर्देशानुसार अनुरोध गरिसकेको छ । मन्त्रालयले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को दफा ३ अनुसार स्थानीय तहलाई राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न निर्देशन छ । त्यसपछि जिल्ला हुदैं प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउन निर्देशन गरेको हो । खेलकुद मन्त्रचालयले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई गत फागुन १३ गते नै पत्र पठाईसकेको छ । गतवर्षदेखि प्रत्येक स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आयोजना हुदैं आएको छ ।  

पोखरा महानगरपालिकाले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति रनिङशिल्डको लागि पत्रचार नगरिसकेको उल्लेख गरेको छ । महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लािग कुनै पत्र नआएको जनाए । ‘स्कुलमा भर्खरै पढाई सञ्चालन भएको छ । विद्यार्थी परीक्षाको तयारीमा छन्’ उनले भने, ‘भर्खरै पढाई शुरुभएको अवस्थामा राष्ट्रपति रनिङशिल्डको लागि सहभागि हुन अनुरोध गर्ने छौं । कति विद्यालय आउँछन यकिन छैन् ।’  

महानगरपालिकाले यो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि ‘मेयर कप खेलकुद’ प्रतियोगिता नाम दिएको छ । मेयरकपबाट छनोट भएका विद्यालयका विद्यार्थीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने उनको भनाई थियो । ‘यो वर्ष हामीले मेयर कप गर्दै छौं । त्यसको लागि छलफल गर्न बाँकी छ,’ ‘उनले भने ‘छलफलपछि मात्रै कहिले गर्ने भन्ने यकिन हुन्छ ।’ मेयरकपको लागि महानगरपालिकाले १० लाख रुपैयाँ छुट्टाईसकेको छ । राष्ट्रपति रनिङशिल्डमा छात्र तथा छात्रा भलिबल तथा एथलेटिक्स प्रतियोगिता आयोजना हुने छ ।  

कास्कीमा महानगरपालिकासँगै चारवटा गाँउपालिका छन् । अन्य चारै गाँउपालिकाले पनि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितको लागि खेलाडी पठाउनुपर्ने छ । त्यसको लागि पनि गाँउपालिकाले राष्ट्रपति रनिङशिल्ड टुग्याउनुपर्ने छ । अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र आईनसकेपनि छलफल शुरु गरिएको बताए । ‘हामी छलफलमा छौं । निर्णय भईसकेको छैन्’ उनले भने–‘सम्भवत छिटै नै प्रतियोगिता आयोजना गर्छौ ।’ 

प्रकाशित: १ चैत्र २०७७ १०:१३ आइतबार

राष्ट्रपति रनिङशिल्ड