खेल

अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबलको उपाधि भीमकालीलाई

महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङस्थित भीमकाली गुल्मले आयोजना गरेको अन्तर सुरक्षा टिम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ।

फाइनलमा सशस्त्र प्रहरीको नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरलाई २५–९,२५–२१ र २५–१९ को सोझो सेटमा हराउँदै भीमकालीले उपाधि रक्षा गरेको हो। यसअघि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीलाई २५–१८,२५–२३ र २५–१५ को सोझो सेटमै पाखा लगाउँदै भीमकालीले फाइनल यात्रा तय गरेको थियो। ३ टिम सहभागी मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरीको नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरको टिम ‘बाइ’पाएर सिधै फाइनलमा पुगेपनि भीमकालीले सशस्त्र र नेपाल प्रहरी दुबैला पराजित गर्दै उपाधि रक्षा गरेको हो। 

बिजयी टिम तथा खेलाडीलाई फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, भीमकाली गुल्मका गुल्मपति सेनानी राजन बस्नेत, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणा, सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति(सशस्त्र डिएसपी)रोशन बुठाथोकी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाँइ र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।  

भीमकाली गुल्मका उपसेनानी जगत खड्काका अनुसार सेना दिवसका अवसरमा गुल्म परिवारले बिहान फुङ्लिङ वडा नं ९ हाङ्देवास्थित सिद्धिडाँडा मन्दिरमा पुगेर सलामी अर्पण समेत गरेको थियो। भीमकाली गुल्मले शुक्रबार फुङ्लिङस्थित भानुजन माविमा विपद् प्रतिकार्यविरुद्धको अभ्यासकला(डोमेस्ट्रेसन) कार्यक्रम समेत राखेको छ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०५:३८ शुक्रबार

अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबल महाशिवरात्री सेना दिवस