खेल

मेयर कप ब्याडमिन्टन: राना र लिनथेपको विजयी सुरुआत

कैलालीका देवराज राना र त्रिभुवन आर्मी क्लबका पविन लिनथेपले प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताकामा विजयी सुरुआत गरेका छन्। 

तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साइनो स्पोर्ट्स हलको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगितामा देवराजले आयोजकका सुजन थापालाई २१–१४ को समान अन्तरले र पविनले बुटवलका प्रतीक अर्याललाई २१–७, २१–८ ले हराउँदै विजयी सुरुआत गरेका हुन्। 

आर्मीका सन्तोष पनेरूले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रतीक श्रेष्ठलाई २१–३, २१–५ ले, गोकुल जोराले एनआरएन दुबईका साहिल चन्दलाई २१–५, २१–१० ले र रुकेश महर्जनले काठमाडौं ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३, २१–१० ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेका छन्।  

तारकेश्वर–१ साङ्लास्थित आयोजकको कभर्डहलमा भएको खेलमा भूपू सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर पाउँदा सहरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८–२१, २१–११, २१–१८ ले, नेपाल पुलिस क्लबका पूर्णबहादुर थापाले टोखाका क्षितिज खनाललाई २१–१९, २२–२० ले पराजित गरे।

आर्मीका आयुष्मान नागरीले काठमाडौ ब्याडमिन्टन एकेडेमीका दीपेन गायकबाट वाकओभर पाएका थिए। सुर्खेतका नरेन्द्र बमले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१–१६, २१–१५ ले, आर्मीका भोजबहादुर गुरुङले चण्डोलका शिव थापालाई २३–२१, २१–१२ ले र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१–१५, २१–१० ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष युगल (राष्ट्रिय वरीयतामा एकल र युगलमा शीर्ष २० बाहेकका), भेट्रान्स (४५ वर्षमाथि), बी र सी लेबल गरी कुल ६ विधामा १ सय ९७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगितामा पुरुष एकल र युगलमा शीर्ष तीनका खेलाडीले नगद ५० हजार, ३० हजार र १० हजार रूपैयाँ प्राप्त गर्नेछन्। पुरुष एकलमा क्वार्टरफाइनलिस्टले नगद पाँच हजार, महिला एकलका शीर्ष तीनले ३० हजार, १५ हजार, सात हजार ५ सय रूपैयाँ र भेट्रान्सतर्पmका शीर्ष तीनले ४० हजार, २५ हजार र २० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०५:०७ बिहीबार

मेयर कप ब्याडमिन्टन राना र लिनथेपको विजयी सुरुआत काठमाडौं ब्याडमिन्टन एकेडेमी