खेल

एकदिवसीय पुरुष क्रिकेट: आर्मी र एपिएफबीच उद्घाटन खेल

फागुन तेस्रो साताबाट हुने काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेलतालिका नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको छ। क्यानले प्रेस–विज्ञप्ति जारी गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जारी तालिकाअनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच उद्घाटन खेल हुनेछ।

सोही दिन नेपाल पुलिस क्लब र बाग्मती प्रदेश पनि मूलपानी क्रिकेट मैदानमा भिड्नेछन्। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर र मूलपानी गरी दुवै मैदानमा खेलाइने प्रतियोगिता फागुन २२ बाट सुरु भई २९ गते समापन हुनेछ। प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र बाग्मती प्रदेशको सहभागिता रहेको छ। एक टोली काठमाडौं मेयर–११ हुनेछ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता आयोजनाको लागि यसअघि नै क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो। सम्झौताअनुसार महानगरपालिकाले क्यानलाई ५० लाख रूपैयाँ उपलब्ध गराउने जनाएको छ। महानगरपालिकाले दुई किस्तामा रकम प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:३२ बुधबार

आर्मी र एपिएफबीच उद्घाटन खेल एकदिवसीय पुरुष क्रिकेट