खेल

चिनियाँ च्याम्पियन क्लब बन्द

चाइनिज सुपर लिग (सिएसएल) च्याम्पियन ज्याङ्सु एफसीले देशको फुटबल क्षेत्रमा देखा परेको आर्थिक समस्या देखाउँदै आइतबार क्लब बन्द गर्ने निर्णय गरेको छ। ज्याङ्सु तीन महिनाअघि मात्र पहिलो पटक सिएसएल च्याम्पियन बनेको थियो।

 ज्याङ्सु कोल्लोमेरेट सनिङको स्वामित्वमा रहँदै आएको छ। ज्याङ्सु बन्द भएसँगै सिएसएलकै अर्को टोली तान्जिन टेडाले पनि यही पद पछ्याउने सम्भावना रहेको छ। विदेशी खेलाडी र प्रशिक्षकमा चर्को मूल्य खर्चिएसँगै सिएसएलको चर्चा एकाएक चुलिएको थियो।

यस क्रममा ज्याङ्सुले इङल्यान्डका पूर्वप्रशिक्षक फाबियो कापेल्लो र ब्राजिलका एलेक्स टेरेसा तथा रामिरेजलाई पनि अनुबन्धित गरेको थियो। ज्याङ्सुले एलेक्सलाई ५० मिलियन युरो र रामिरेजलाई २८ मिलियन युरोमा अनुबन्धित गरेको थियो।

 गत सिजन ज्याङ्सुले रियाल मड्रिडबाट वेल्सका गारेथ बेललाई समेत अनुबन्धित गर्ने अन्तिम तयारी गरेको थियो। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को कारण चिनियाँ क्लबसमेत आर्थिक मारमा परेका थिए।

‘हामी खेलाडी र खेलसँग अलग हुँदै छौं। यो निकै दुखद क्षण हो। हामी फुटबलबाटै चिनियाँ र त्यसबाटै अलग हुँदै छाैं,’ ज्याङ्सु एफसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यो निर्णयबाट क्लब समर्थक र खेलाडीमा पर्न जाने असुविधाप्रति क्षमापार्थी छाैं। आजकै मितिबाट हामी फुटबलबाट अलग भएका छौं।’

प्रकाशित: १७ फाल्गुन २०७७ ०४:४८ सोमबार

चिनियाँ च्याम्पियन क्लब बन्द ज्याङ्सु एफसी चाइनिज सुपर लिग आर्थिक समस्या