खेल

बी डिभिजन लिग: आशिषको ह्याट्रिकमा कुमारीलाई सफलता

आशिष राईले गरेको ह्याट्रिकको मद्दतमा श्री कुमारी क्लबले बुधबार श्री भगवती क्लबलाई ४–१ गोलले हराउँदै कोभिडपछि सुचारु भएको ‘बी’ डिभिजन लिगमा सुखद नतिजा निकाल्दा दिनको पहिलो खेलमा टुसाल युथ क्लबलाई हराउँदै बाँसबारी युथ क्लब लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन खेलमा कुमारीका आशिषले ह्याट्रिकसहित चार गोल गर्दा भगवतीका नवराज गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए। भगवतीविरुद्धको खेलमा चम्किएका आशिषले कुमारीका लागि २०औं मिनेटमा पहिलो गोल गरेका थिए।

५३औं मिनेटमा दोस्रो गोल थप्दा ६४औं मिनेटमा ह्याट्रिक पूरा भएको थियो। उत्कृष्ट खेल प्रदर्शन गरेका आशिषले ७७औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए। यसअघि ५८औं मिनेटमा विवेक पुन दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। कुमारीले लिगमा दोस्रो जित निकालेको छ। कुमारीको ६ खेलबाट ६ अंक भएको छ भने पराजित भगवतीले ६ खेलबाट तेस्रो पराजय भोगेको छ। भगवतीको तालिकामा ५ अंक छ।

लिगअन्र्तगत दिनको पहिलो खेलमा टुसाल युथ क्लबलाई ३–१ ले हराउँदै बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको हो। एन्फा मुख्यालयको मैदानमा नै सम्पन्न खेलमा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गर्दा अनिल गुरुङले एक गोल गरे।  

टुसालका सुनिल धामीले एक गोल गर्दै बाँसबारीको अन्तर घटाएका थिए। पाँर्चौ मिनेटमा गोल गर्दै भीष्मराजले बाँसबारीको खाता खोलेका थिए भने ३४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए। पहिलो हाफमा २–० को अग्रता बनाएको बाँसबारीका लागि अनिलले ५४औं मिनेटमा तेस्रो गोल गरेका थिए। अन्तर घटाउन प्रयासरत टुसालका सुनील धामीले एक गोल फर्काए। ८८औं मिनेटमा एलोन राईले टुसालको पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन्। बाँकी समयमा थप गोल हुन सकेन र बाँसबारीले सहज जित निकाल्न सफल भयो।  

जितसँगै बाँसबारीले ६ खेलमा ५ जित निकाल्दा १४ अंक जोडेको छ। बाँसबारी लिगको तेस्रो स्थानमा उक्लिएको छ। टुसालले ६ खेलमा ८ अंक जोडेको छ। टुसाल लिगको छैटौं स्थानमा छ। ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र नयाँ बस्ती युवा क्लबबीच हुँदा दोस्रो खेल झम्सीखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच हुनेछ।  

प्रकाशित: १३ फाल्गुन २०७७ ०४:३४ बिहीबार

बी डिभिजन लिग अखिल नेपाल फुटबल संघ टुसाल युथ क्लबलाई हराउँदै बाँसबारी युथ क्लब